बाँकेका निर्माण व्यवसायीको चेतावनी : “महँगी अनुसार दररेट कायम नगरिए निर्माण कार्य रोकिन्छ”

कोहलपुर — बाँकेका निर्माण व्यवसायीहरू यतिबेला चर्को महँगीका कारण गम्भीर संकटमा परेको बताएका छन्। बाँके निर्माण व्यवसायी संघ ले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोल, मटेरियल लगायतका सामग्रीको मूल्य अत्यधिक बढेकोले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ।


संघले इन्धन, सिमेन्ट, छड, गिट्टी, बालुवा लगायतका सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण कार्य सञ्चालन गर्न कठिन भएको उल्लेख गरेको छ। साथै, बजारमा सामग्री अभावसमेत देखिएकाले निर्माण व्यवसाय थप संकटमा परेको संघको भनाइ छ।
संघले सरकारसँग तत्काल मूल्य समायोजनको स्पष्ट नीति ल्याउन, दररेट हालको बजार मूल्यअनुसार कायम गर्न र निर्माण व्यवसायीलाई राहत दिन माग गरेको छ। अन्यथा निर्माण कार्य ठप्प पार्ने चेतावनीसमेत दिइएको छ।
यता, निर्माण व्यवसायी खुसी बिल्डर्सका प्रोप्राइटर उमेश जंग शाही ले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन्,
“महँगीले आकाश छोयो, सरकार! अहिलेको महँगी अनुसार दररेट कायम गर। नभए निर्माणका काम रोकेर ‘कन्स्ट्रक्शन होलिडे’ मनाउन बाध्य हुनेछौं।”
उनले बाँके निर्माण व्यवसायी संघप्रति पनि प्रश्न उठाउँदै, “कता हरायो हाम्रो संघ? किन व्यवसायीको आवाज उठाइरहेको छैन?” भन्दै चिन्ता व्यक्त गरेका छन्।
निर्माण क्षेत्रमा बढ्दो लागत, भुक्तानी ढिलाइ र मूल्य समायोजनको अभावले व्यवसायीहरू आक्रोशित बन्दै गएका छन्। यदि समस्या समाधानमा ढिलाइ भएमा जिल्लाभर निर्माण कार्य प्रभावित हुने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »