कोहलपुर नगरपालिका वडा नं. ११ मा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBS) सम्बन्धी वडास्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

समुदायमै रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह तथा जनस्वास्थ्य संरक्षणमा स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा PHRD संस्थाकी सहजकर्ता एलिना थापाले समुदायमा आधारित रोग निगरानी प्रणालीको उद्देश्य, कार्यविधि तथा यसको महत्त्वबारे सहजीकरण गर्नुभएको थियो। सहजीकरणका क्रममा नेपालमा देखापरिरहेका विभिन्न सरुवा रोग तथा स्वास्थ्यसम्बन्धी जोखिमबारे जानकारी दिँदै १३ वटा सम्भावित रोग/घटना र ८ वटा प्रमुख लक्षण पहिचान तथा निगरानी गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।

त्यस्तै, रोगका प्रारम्भिक लक्षण, जोखिम, रोकथामका उपाय तथा रोगको सम्भावित फैलावट रोक्न समुदायले खेल्नुपर्ने भूमिकाबारे समेत सहभागीलाई जानकारी दिइएको थियो। कुनै पनि असामान्य स्वास्थ्य समस्या वा रोगको प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी सम्बन्धित स्वास्थ्य संस्थामा सूचना दिन सके रोगको फैलावट रोक्न महत्वपूर्ण सहयोग पुग्नेमा जोड दिइएको थियो।
अभिमुखीकरण कार्यक्रममा वडा नं. ११ का जनप्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमकै क्रममा सामुदायिक सिकाइ केन्द्रकी सहजकर्ताले ‘हेलो स्वास्थ्य सेवा’को टोल फ्री नम्बर १११५ बारे जानकारी गराउँदै शंकास्पद रोग, असामान्य स्वास्थ्य अवस्था वा सम्भावित प्रकोपसम्बन्धी सूचना निःशुल्क रूपमा फोनमार्फत दिन सकिने जानकारी दिनुभयो। समयमै सूचना प्रवाह भए सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्न सक्ने र सम्भावित महामारीको जोखिम न्यूनीकरण गर्न सहज हुने उहाँको भनाइ थियो।
समापन कार्यक्रममा समुदायको सक्रिय सहभागिताबिना रोग निगरानी प्रणाली प्रभावकारी हुन नसक्नेमा जोड दिइयो। विद्यालयका प्रधानाध्यापकले विद्यालय, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयले जनचेतना अभिवृद्धि गर्दै स्वस्थ र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

आयोजकका अनुसार समुदायमा आधारित रोग निगरानी प्रणालीले रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र शीघ्र उपचार व्यवस्थापनलाई सहज बनाउँदै जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउनेछ।
“समयमै सूचना, समयमै उपचार, स्वस्थ समुदाय” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले नागरिकलाई रोगप्रति सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरित गरेको आयोजकले जनाएको छ।