सूर्य ढकाल घरदैलो अभियानमा सक्रिय, स्थानीयसँग प्रत्यक्ष संवाद !

सूर्य ढकाल घरदैलो अभियानमा सक्रिय, स्थानीयसँग प्रत्यक्ष संवाद !

बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालले आफ्नै वडाबाट घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा खुला संवादमा जुटेका हुन्। घरआँगनमै पुगेर मतदाताका कुरा सुन्ने र आफ्ना योजना राख्ने क्रममा ढकालको अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको छ।
घरदैलो कार्यक्रममा स्थानीयवासीले अब देश जोगाउने जिम्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काँधमा रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले स्थिर सरकार, विकास र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको बताएका थिए। सो अवसरमा ढकालले विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विस्तारका विषयमा विस्तृत छलफल गरेका थिए।
आफ्नै टोलमा मत माग्न पुगेका ढकाललाई स्थानीयले उत्साहपूर्ण रूपमा स्वागत गरेका छन्। घरदैलोका क्रममा स्थानीयवासीले उनलाई जितको अग्रिम शुभकामना दिँदै यस क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्न आग्रह समेत गरेका छन्।
ढकालले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँके क्षेत्र नम्बर १ को समग्र विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यसअघि विभिन्न कारणले अधुरा रहेका कामहरू पूर्ण रूपमा सम्पन्न गर्न नपाएको स्वीकार गर्दै, यसपटक मतदाताले विश्वासका साथ विजयी गराएमा ती सबै अधुरा योजनाहरू पूरा गर्ने र नयाँ विकास योजनाहरू समेत अघि बढाएर कार्यान्वयन गर्ने दृढ अठोट व्यक्त गरेका छन्।
उनले यश क्षेत्रको सडक, सिंचाइ, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवा सुदृढीकरण तथा युवाका लागि रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिने बताए। “जनताको साथ र विश्वास पाएँ भने बाँके क्षेत्र नम्बर १ लाई विकासको नमुना क्षेत्र बनाउनेछु,” उनले भने।
घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर जारी रहने र प्रत्येक घरसम्म पुगेर मतदाताका सुझाव तथा गुनासा संकलन गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »