नेपालगन्ज, असार २४ —
“रक्तदान नै जीवनदान ” भन्ने मुल नारासहित स्ववियु, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

क्याम्पस परिसरमै आयोजना गरिएको रक्तदान कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कुल ८१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा रगतको अभाव हटाउने, युवामा मानवीय सेवाको भावना जगाउने र रक्तदानजस्तो जीवनदायी कार्यप्रति जागरुकता फैलाउने रहेको थियो।

स्ववियु सभापति केशर जंग शाहले रक्तदान कार्यक्रमको नेतृत्व गर्दै भने,
“युवा शक्ति केवल शिक्षा सीमित हुनु हुँदैन, सामाजिक सेवामा पनि अगाडि बढ्नुपर्छ। हामीले आज गरेको यो कार्य समाजप्रतिको सानो योगदान हो।”

उनले भविष्यमा अझ ठूलो सहभागितासहित नियमित रूपमा यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक संघका प्रतिनिधि, रेडक्रस समाज, स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
स्ववियु समितिका अनुसार रक्तदान कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिइने छ भने आगामी दिनमा स्वास्थ्य जाँच शिविर, सरसफाइ अभियान, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम जस्ता अन्य क्रियाकलाप पनि सञ्चालन गरिनेछ।
सामाजिक उत्तरदायित्वप्रति विद्यार्थीको चासो र सहभागिता बढ्दै गएको सकारात्मक संकेतका रूपमा कार्यक्रमलाई लिइएको छ।