बीमा बोर्डको निर्णयसंगै : भेरी अस्पतालमा सेवा लिन प्रेषण पूर्जा अनिवार्य

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले बाँके जिल्लाका चारवटा अस्पताललाई मात्र प्रेषण केन्द्रका रूपमा कायम गरेको छ । ती अस्पतालहरूमा भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा, र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा रहेका छन् ।

बोर्डको निर्णय अनुसार, अबदेखि यी अस्पतालहरूले बीमा कार्यक्रममा आवद्ध भएका र रिफर गरिएका बिरामीहरूलाई मात्र उपचार सेवा दिनेछन् ।

भेरी अस्पतालले बुधवार एक सूचना जारी गर्दै, साउन १ गतेदेखि लागू हुने गरी बीमा सेवा लिन इच्छुक बिमितहरूले प्रथम सेवा केन्द्रबाट प्राप्त प्रेषण पूर्जा अनिवार्य रूपमा ल्याउनुपर्ने जानकारी दिएको छ ।

भेरी अस्पतालको सूचनामा भनिएको छ, ‘स्वास्थ्य बीमा अन्तर्गत सेवा लिन इच्छुक बिमित सेवाग्राहीहरूले सम्बन्धित स्वास्थ्य संस्था वा प्रथम सेवा केन्द्रबाट प्राप्त आधिकारिक प्रेषण पूर्जा लिएर आएको खण्डमा मात्र भेरी अस्पतालमा स्वास्थ्य बीमा सेवा लिन सकिनेछ।’

बीमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रूपमा निम्न स्वास्थ्य संस्थाहरू तोकेको छ:

नगर अस्पताल, कोहलपुर

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुर

खजुरा प्राथमिक स्वास्थ्य केन्द्र

बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र

अब बिमित नागरिकहरूले उपचार सुरु गर्न यी प्रथम सेवा विन्दुबाट सेवा लिएर मात्र प्रेषण केन्द्रमा रिफर भई उपचार गराउन पाउनेछन् ।

यस निर्णयले भीडभाड भएका अस्पतालहरूमा अनावश्यक चाप कम हुने देखिए तापनि, गुणस्तरीय र सहज स्वास्थ्य सेवामा असर पर्न सक्ने देखिएको छ ।

विशेष गरी नेपालगन्जका नागरिकहरूलाई सामान्य स्वास्थ्य समस्याका लागि समेत कोहलपुर, खजुरा, नरैनापुरसम्म जानुपर्ने बाध्यता आउने देखिएको छ, जुन अघिसम्म सिधै भेरी अस्पतालबाट सेवा लिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »