बाँकेको खजुरामा कुखुराको मासु खाँदा १३ जना बिरामी

बाँके | खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना एकैपटक बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू १३ गते राति ८ बजे पुलाउ, कुखुराको मासु र राजमा खाएपछि बिरामी परेका हुन् ।

बिरामीहरूमा झाडा, पखाला, उल्टी, ज्वरो र रिङ्गटा लाग्ने समस्या देखिएको छ । उनीहरूमध्ये एकै परिवारका ७ जना र केही बालबालिका पनि छन् ।

बिरामी राम बहादुर बिष्टका अनुसार खाना खाएर ६ जना र खाना पोकोमा ल्याएर खाएकाहरू थप बिरामी परेका हुन् । खजुरा ४ एफ गाउँमा आयोजित भात खुवाई कार्यक्रममा सहभागी भएपछि उनीहरू बिरामी परेका हुन् ।

आशंका गरिएअनुसार भारतीय सीमावर्ती क्षेत्रबाट ल्याइएको कुखुराको मासुका कारण बिरामी परेका हुनसक्ने अनुमान गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र खजुरा–४ का इन्चार्ज गेहेन्द्र जैसीले पुलाउ, अचार मात्र खानेहरूमा समस्या नदेखिएको तर कुखुराको मासु खाएकाहरूमा लक्षण देखिएको जानकारी दिए ।

बिरामी परेकाहरूको बाँके सिटी अस्पताल खजुरामा उपचार भइरहेको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले घटनाको छानबिन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

घटनास्थल तथा अस्पतालमा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, वडा नं. ४ का अध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नं. ५ का अध्यक्ष गरिबे शेख, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीलगायतको टोली पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »