बाँके ट्राफिक: कारबाही, दुर्घटना न्युनिकरण र जनचेतनामा उल्लेख्य उपलब्धि

बाँके ,कोहलपुर — आर्थिक वर्ष २०८१/०८२ मा बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूबाट ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार, गत साउनदेखि असार मसान्तसम्म ३७ हजार ४३५ सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घनको अभियोगमा कारबाही गरिएको थियो।

कारबाहीमा परेका सवारी साधनमध्ये ४२८८ ट्रक–टिपर, ८४३९ बस तथा मिनी बस, ६५५५ जिप, १४ हजार ५०२ मोटरसाइकल, र १२१८ ट्याक्टर रहेका छन्।

कारबाहीबाट ट्रक–टिपरबाट ४२ लाख ६२ हजार, बसबाट ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार, ट्याक्टरबाट ९ लाख ८४ हजार ५ सय र अन्य सवारी (जस्तै टेम्पो) बाट १५ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरिएको पन्तले बताए।

त्यसैगरी, सोही अवधिमा बाँके जिल्लामा ८५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ५५ जना पुरुष, १० महिला, ४ बालक र एक बालिका छन्।

दुर्घटनामा १०२ पुरुष, २० महिला, १६ बालक र ४ बालिका गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका छन्।

गत वर्ष चौपायासँग सम्बन्धित ५७७ दुर्घटनामा २२ चौपायाको मृत्यु र ७ चौपाया घाइते भएको तथ्याङ्क ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ। सबैभन्दा बढी ४८५ वटा दुर्घटनामा मोटरसाइकल संलग्न रहेको उल्लेख गरिएको छ।

साथै, ट्राफिक प्रहरीले सवारी सचेतनाका लागि २५५५ वटा कार्यक्रम सञ्चालन गरेको छ, जसबाट २ लाख ३२ हजार १८७ सर्वसाधारण लाभान्वित भएका छन्। ट्राफिक जनचेतना कार्यक्रमअन्तर्गत जिल्लाभर नागरिक सुनुवाइ, सवारीको मेकानिकल जाँच, र चालक–सहचालकका लागि आँखा जाँच शिविरसमेत सञ्चालन गरिएको प्रमुख पन्तले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »