बाँके, बैजनाथ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ मकैबारीमा आफ्नै बुबाको हत्या गरेर फरार भएका भुपेन्द्र रोकाय १३ दिनपछि सामुदायिक वनको भवनबाट पक्राउ परेका छन्।
२०७९ साउन २१ गते साँझ करिब ७:३० बजे टोप बहादुर रोकाय (६०) लाई उनका छोरा भुपेन्द्र रोकाय (३२) ले घरको आँगनमै काठको मुङ्ग्रो (गाईबस्तु किला ठोक्न प्रयोग हुने) ले टाउकोमा हानी हत्या गरेका थिए। मानसिक सन्तुलन ठिक नभएको बुझिएका भुपेन्द्र घटना स्थलमै हत्या गरेर फरार भएका थिए।
स्थानीयवासीको सूचनामा करिब ८:४५ बजे इलाका प्रहरी कार्यालय बनकटवामा खबर पुगेसँगै तत्काल विभिन्न प्रहरी टोलीहरू घटनास्थलमा खटिएका थिए। प्रहरी निरीक्षक तेज बहादुर रानाको कमाण्डमा बनकटवाबाट २ जना, चिसापानीबाट प्र.नि. रविन्द्र अधिकारीको कमाण्डमा ७ जना, कोहलपुरबाट प्र.ना.उ. लक्ष्मी खनाल तथा हरी भट्टराईको कमाण्डमा १६ जना, र SOCO टोलीसहितको ७ जनाको टोली खटिएको थियो।
घटनास्थलमै मृत भेटिएका टोप बहादुरको शव पोस्टमार्टमपछि उनका अर्का छोरा कुल बहादुर रोकायले २२ गते दिउँसो बुझेका थिए। प्रहरीले घटनास्थल नजिकै प्लास्टिकको बोराले बेरिएको अवस्थामा हत्या प्रयुक्त मुङ्ग्रो पनि फेला पारेको थियो।
हत्या आरोपित भुपेन्द्र रोकायको खोजीका लागि प्रहरीले डग स्क्वाडसहित कोहलपुर, चिसापानी र बनकटवा क्षेत्रभरि व्यापक खोजी गरेको थियो। अन्ततः साउन ४ गते दिउँसो करिब ३:१५ बजे बैजनाथ गाउँपालिका–२ पहाडीपुरस्थित खैरेनी सामुदायिक वनको भवनमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
प्रहरी टोलीहरू — बनकटवाबाट प्र.ह. हेमराज चौधरीको कमाण्डमा २ जना, कोहलपुरबाट प्र.ना.नि. कमल थापाको कमाण्डमा ६ जना र चिसापानीबाट प्र.नि. रविन्द्र अधिकारीको कमाण्डमा ५ जना — को संयुक्त प्रयासमा भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धानका लागि कोहलपुर ल्याइएको बाँके प्रहरीले जानकारी दिएको छ।
