कोहलपुर नगरपालिकाले मनायो ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस

कोहलपुर नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाएको छ। “समानता, अधिकार र सशक्तीकरण” भन्ने नारासहित कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण शाखाको आयोजनामा महिला भलिबल प्रतियोगिता, व्हिलचियर प्रतियोगिता, प्रभातफेरी, सभा लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए।

शनिबार प्रभातफेरीपछि कोहलपुर खुल्ला मैदानमा आयोजित सभामा लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले महिला अधिकार प्राप्तिको इतिहास र त्यसको दायरा विस्तार भएको बताइन्। उनले नेपालको संविधानले महिला अधिकार सुनिश्चित गरेको भए पनि यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्नेमा बल दिइन्। समान कामको लागि समान ज्यालाको लडाइँ अझै जारी रहेको र समाजमा महिलामाथिको विभेद कम गर्न सबैको एकता आवश्यक रहेको बताइन्।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले महिला चेतना स्तरको वृद्धि भएको बताउँदै, संविधानले महिलामैत्री व्यवस्था गरेको भए पनि कार्यान्वयनको पाटो अझै कमजोर रहेकोमा जोड दिए। उनले महिलाका मुद्दाहरूको समाधान गर्न सबैका एकता आवश्यक भएको बताएका थिए। उनले थपे, “अहिले पनि महिलामाथिको विभेद नरोकिएको छ, त्यसलाई चिर्न हामी सबैलाई एकजुट हुनुपर्ने छ।”

नगर उपप्रमुख संगिता सुवेदीले महिलामा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा भएको परिवर्तन र अधिकारको वर्चस्वमा कमी आएको उल्लेख गर्दै, महिलाविरुद्धका विभेदपूर्ण व्यवहारमा कमी आएको बताइन्। तर, उनले अझै महिलाले भेदभाव र हिंसाबाट मुक्ति पाउन आवश्यक रहेको पनि जोड दिइन्।

दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारले समाजबाट सबै खाले विभेद हटाउनुपर्ने बताइन् र विशेष गरी श्रम क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न आग्रह गरे। उनले स्थानीय सरकारलाई यसतर्फ ध्यान दिन पनि सुझाव दिइन्। नेकपा समाजवादी नेतृ नारायणी ओलीले महिला अधिकारको लडाइँ अझै जारी रहेको बताउँदै सबै खाले विभेद हटाउनुपर्ने कुरा उठाइन्। उनले संविधानले महिलाका अधिकारलाई सुनिश्चित गरेको भए पनि त्यसको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताइन्।

कार्यक्रममा महिला भलिबल र व्हिलचियर प्रतियोगिताका विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। यस कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा समावेशीकरण शाखाकी तारा भण्डारीले गरेकी थिइन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी, सहकारीकर्मी लगायतको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »