लुम्बिनी, साउन १६ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा ३२ वर्षे उमेर सीमा लागू भएपछि संगठनलाई नयाँ ऊर्जा र नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा नयाँ टोली चयन गरिएको छ।
संगठनको केन्द्रिय निर्णयअनुसार, विधानअनुसारको उमेर हद पार गरिसकेका नेताहरूले जिम्मेवारी हस्तान्तरण गरेसँगै नयाँ पुस्ताका नेताहरूलाई अगाडि ल्याइएको हो। यस कदमले अनेरास्ववियुमा युवाको सशक्त प्रतिनिधित्वलाई सुनिश्चित गर्दै संगठनलाई अझ सक्रिय, अनुशासित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
केन्द्रिय निर्णयअनुसार लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी क. आर्जन रिजाललाई दिइएको छ भने प्रदेश संयोजकमा क. मदन भण्डारी चयन भएका छन्। त्यस्तै सह–संयोजकको जिम्मेवारी क. अञ्जित खनाल, क. बसन्त भट्टराई र क. हेमन्त भट्टराईलाई दिइएको छ।
नेता हेमन्त भट्टराईको संगठन यात्रा
सह–संयोजकको जिम्मेवारी पाएका क. हेमन्त भट्टराई लामो समयदेखि अनेरास्ववियुमा सक्रिय रुपमा क्रियाशील रहँदै आएका छन्। उहाँले संगठनिक यात्राको प्रारम्भ प्राक–कमिटी सदस्यबाट गर्नुभएको थियो। त्यसपछि बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको अनेरास्ववियु इकाई अध्यक्ष, जिल्ला कमिटी सदस्य, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उप–सभापति हुँदै अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीको संगठन विभाग प्रमुख र कार्यालय सचिवको भूमिकासमेत सम्हाल्दै आउनुभएको छ। निरन्तर सक्रियता र प्रतिबद्धताको कदर स्वरूप अहिले उहाँलाई प्रदेश सह–संयोजकको जिम्मेवारी दिइएको हो।
१२ वटै जिल्लामा पनि इन्चार्ज तोकियो
प्रदेश नेतृत्वको पुनःसंरचनासँगै लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्लामा पनि नयाँ इन्चार्जहरू तोकिएको अनेरास्ववियुले जनाएको छ। तोकिएका जिल्ला इन्चार्जहरू यसप्रकार छन्:
क्र.सं. जिल्ला इन्चार्ज
१ कपिलवस्तु क. विष्णु घिमिरे
२ नवलपरासी क. मनिषा कार्की
३ रुपन्देही क. निरज आचार्य
४ अर्घाखाँची क. विराज मुखियाँ
५ गुल्मी क. रमा श्रेष्ठ
६ पाल्पा क. मधुसुधन आचार्य
७ दाङ क. प्रविन पुन मगर
८ प्यूठान क. टेकराज के.सी.
९ रोल्पा क. सूर्य बि.क.
१० पूर्वी रुकुम क. रामचन्द्र के.सी.
११ बाँके क. वर्षा मल्ल
१२ बर्दिया क. मनिषा योगी
सशक्त नेतृत्वद्वारा सशक्त संगठनको अपेक्षा
अनेरास्ववियुले संगठनको नवीकरण प्रक्रियालाई सहज, अनुशासित र लोकतान्त्रिक ढंगले अघि बढाएको जनाएको छ। यसक्रममा युवा पुस्ताका सक्षम, गतिशील र प्रतिबद्ध व्यक्तित्वहरूलाई नेतृत्वमा ल्याइएको छ।
नयाँ नेतृत्वले विद्यार्थी हित, शैक्षिक सुधार, संगठन सुदृढीकरण तथा राजनीतिक सचेतनाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। साथै, संगठनभित्र युवा सहभागितालाई थप बलियो बनाउँदै नयाँ विचार, ऊर्जा र कार्यशैलीसहित अनेरास्ववियु अघि बढ्ने अपेक्षा गरिएको छ।