वेस्टर्न सेकेन्डरी स्कुलद्वारा नव–आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर, साउन ३० – वेस्टर्न सेकेन्डरी स्कुल, कोहलपुरले कक्षा–११ भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोहलपुर–११, दस्बिगाहा स्थित होटल ट्रीटप हेभनमा आयोजना गरिएको हो।

विद्यालयको शैक्षिक वातावरण, मूल्य–मान्यता, अनुशासन र जिम्मेवारीबारे विद्यार्थीहरूलाई प्रारम्भमै स्पष्ट जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। शैक्षिक यात्रा सुरु गर्नु अघि आत्मविश्वास, सकारात्मक सोच र कर्तव्यबोधको भावना विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास विद्यालयले लिएको छ।

कार्यक्रमको सुरुवात प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नं–५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर तथा राष्ट्रिय गान गाएर गर्नुभएको थियो। त्यसपछि प्रमुख अतिथी, विशिष्ट अतिथी र अन्य पाहुनाहरूले नव–आगन्तुक विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रमको अध्यक्षता कुबेर बस्नेतले गर्नुभयो। उहाँले वेस्टर्न सेकेन्डरी स्कुलले विद्यार्थीहरूको प्रतिभा, क्षमता र अभिरुचिअनुसार शैक्षिक पद्धति अपनाउने गरेको उल्लेख गर्दै “शिक्षासँगै संस्कारको भावना” राखेर अध्ययन गराउने उद्देश्य विद्यालयको प्रमुख आधार रहेको बताउनुभयो।

सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र भौतिक सुविधा उत्कृष्ट रहेको उल्लेख गर्दै आगामी दिनमा आवश्यक सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक उमेश श्रेष्ठले राख्नुभएको थियो। उहाँले विद्यार्थी, अभिभावक र शिक्षकबीचको त्रिकोणात्मक सम्बन्धले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै विद्यालयले चौतर्फी विकासको वातावरण निर्माणमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। साथै, विद्यालयको पहुँच, अनुभव र दक्ष शिक्षकमार्फत विद्यार्थीलाई उत्कृष्ट मार्गदर्शन गरिने आश्वासन दिनुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा निमन्त्रित प्रेरणादायी वक्ता रवि किरणले विद्यार्थीहरूलाई अनुशासन, नियमितता, सम्मान, लक्ष्यप्रति समर्पण र कर्तव्यबोधका साथ अध्ययन गर्न प्रेरणा दिनुभयो। उहाँका सशक्त भनाइहरूले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको सहभागीहरूले बताएका छन्

राष्ट्रिय परीक्षा बोर्डका अधिकृत गोपाल के.सी., विद्यालयका समन्वयकर्ता राजु दहाल, विभिन्न शैक्षिक व्यक्तित्वहरू, शिक्षक–अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरेका थिए।

विद्यालयका अनुसार, अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालय र वातावरणप्रति आत्मीयता महसुस गर्दै नयाँ परिवेशमा छिट्टै घुलमिल हुने विश्वास व्यक्त गरेका छन्। प्रधानाध्यापक उमेश श्रेष्ठका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूलाई आगामी अध्ययन यात्राको स्पष्ट दिशा र सकारात्मक सोच प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »