कोहलपुर – नेपालमा शिक्षकहरूलाई सम्पन्न हुन नदिनु पछाडि विभिन्न राजनीतिक, सामाजिक र संस्थागत कारणहरू रहेको देखिन्छ। शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा, उल्टै शिक्षकलाई आर्थिक रूपमा कमजोर राख्ने प्रवृत्ति मौलाउँदै गएको छ।
राजनीतिक स्वार्थ प्रमुख कारण
राजनीतिक नेताहरू शिक्षित र आर्थिक रूपमा सक्षम शिक्षकहरूलाई स्वतन्त्र चिन्तन गर्न सक्ने भएकाले उनीहरूलाई नियन्त्रण गर्न कठिन मान्छन्। यसैले, शिक्षकहरूलाई न्यून तलब-भत्ता, सीमित अवसर, र अस्थिर वातावरण दिइन्छ, जसले गर्दा उनीहरू सधैं निर्भर रहून्।
व्यवहारमा परिवर्तन छैन
विभिन्न नेताहरू बेला-बेला शिक्षकहरूको पक्षमा बोलेको देखिन्छ। तर व्यवहारमा कुनै ठोस परिवर्तन देखिएको छैन। हिजो पनि शिक्षकहरू ठगिएका थिए, आज पनि ठगिएकै छन्। १/२ ठाउँ बाहेक, अधिकांश शिक्षकहरू चार-पाँच महिना तलब नपाएर उधारो पढाउनुपर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन्।
संस्थागत उपेक्षा र नीतिगत कमजोरी
शिक्षा क्षेत्रमा उचित लगानी नहुनु, शिक्षकहरूको तलब अन्य पेशाकर्मीहरूको तुलनामा न्यून रहनु, तथा पेशागत विकासका अवसरहरू नहुनुले शिक्षकहरूको अवस्था कमजोर बनाएको छ। शिक्षालाई प्राथमिकता नदिँदा यसको असर सम्पूर्ण समाजमा पर्न गएको छ।
शिक्षकप्रति समाजको दृष्टिकोण
शिक्षकलाई “सेवक” को रूपमा मात्र हेर्ने पुरानो मानसिकता अझै पनि कायमै छ। जब शिक्षकहरू व्यवसायिक रूपमा सम्पन्न हुन खोज्छन्, समाजले आलोचना गर्छ। अन्य पेशाका व्यक्तिहरू सम्पन्न हुँदा सामान्य रूपमा लिइन्छ, तर शिक्षकहरू सम्पन्न हुँदा प्रश्न उठाइन्छ।
नीति निर्माणमा शिक्षकमाथि दबाब
शिक्षकहरू यदि आर्थिक रूपमा सक्षम भए, उनीहरू नीति निर्माणमा प्रभाव राख्न सक्छन्। नेताहरू शिक्षकलाइ कमजोर राखेर उनीहरूको प्रभाव सीमित गर्न चाहन्छन्, ताकि उनीहरू शासकीय नियन्त्रणभन्दा बाहिर नजाउन्।
समाधान के हुन सक्छ?
शिक्षकहरूलाई सम्मानजनक जीवनस्तर दिनु, उनीहरूको तलब तथा भत्तामा सुधार ल्याउनु, शिक्षाक्षेत्रमा लगानी बढाउनु, र समाजले शिक्षकको भूमिकालाई सम्मानजनक रूपमा लिनु आवश्यक छ। जबसम्म शिक्षकहरूलाई सशक्त बनाइँदैन, देशको समग्र विकास सम्भव छैन।
(शिक्षक – ऋषि राम थापा मगर)