नेपालगन्ज क्याम्पसको ३५ लाखको छात्रवृत्ति योजना, २४ विद्यार्थी लाभान्वित हुने

नेपालगन्ज — नेपालगन्ज गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा यस वर्ष ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । यस कार्यक्रमअन्तर्गत BSc.CSIT र BCA दुवै तहमा १२/१२ गरी २४ जना विद्यार्थी लाभान्वित हुनेछन्।

क्याम्पसका एकेडेमिक को–अर्डिनेटर अंकित श्रीवास्तवका अनुसार, २ जना विद्यार्थीलाई शतप्रतिशत, २ जनालाई ७५ प्रतिशत, २ जनालाई ५० प्रतिशत र ६ जनालाई २५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ। उनका अनुसार यो योजना कलेजको सामाजिक उत्तरदायित्व अन्तरगत अघि सारिएको हो।

छात्रवृत्ति चयन प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक हुने क्याम्पस प्रमुख निशान्त राज शाक्यले बताए। उनका अनुसार मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पसले लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब/जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत वेटेज दिइनेछ।

कलेज सञ्चालक सदस्य वृजेश वैश्यका अनुसार, नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc.CSIT र BCA पढ्न सकिने वातावरण बनेको छ। उनका अनुसार छात्रवृत्ति योजनाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई IT शिक्षा हासिल गर्न मद्दत गर्ने र विदेश जाने विद्यार्थीको संख्यामा समेत केही कमी ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »