कोहलपुर-१० स्थित जीवन ज्योती स्कुलका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर-१, कौशिलानगरमा अवस्थित जन ज्ञान ज्योती माविका कक्षा ५ सम्म अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

शिक्षालाई सरल र प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम जीवन ज्योती स्कुलको Socio-Eco Club को संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई कापी, कलम, झोला, ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक तथा क्लबका प्रतिनिधिहरूले यस्तो सहयोगात्मक गतिविधिले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शैक्षिक सामग्री पाएका विद्यार्थीहरू तथा अभिभावकहरूले जीवन ज्योती स्कुलका विद्यार्थीहरूको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्। यस प्रकारका कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्दै उपस्थितहरूले विद्यार्थीहरूको यो सराहनीय प्रयासको प्रशंसा गरेका थिए।
शिक्षा मात्र होइन, सामाजिक सेवामा पनि अग्रसर भइरहेका जीवन ज्योती स्कुलका विद्यार्थीहरूको यो उदाहरणीय कदमले समाजमा सहयोगको भावना जागृत गराउने विश्वास गरिएको छ।