भुक्तानी नपाएपछि निर्माण व्यवसायीले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरमा निर्माण व्यवसायीले आज बिहान ताला लगाएका छन्।
पूर्व–पश्चिम राजमार्गको छेउमै, कोहलपुर–२ तेह्रबिगाहामा बनेको ५ करोड ४८ लाख ८५ हजार लागतको भव्य प्रशासनिक भवन एक वर्षअघि हस्तान्तरण भए पनि भुक्तानी रोकिँदा निर्माण व्यवसायीहरू आक्रोशित भएका हुन्।
२० कोठाको यो आधुनिक भवनबाट तीनवटा प्रदेशका दुई सयभन्दा बढी क्याम्पसलाई सहज सेवा पुग्ने अपेक्षा गरिएको थियो। तर, निर्माण सम्पन्न भएको वर्ष दिन बितिसक्दा पनि १ करोड रुपैयाँ अझै भुक्तानी नभएको व्यवसायीहरूले बताएका छन्।
“हामीले श्रम गरेका छौँ, काम पूरा गरेर भवन हस्तान्तरण गरिसक्यौँ, तर पैसा नदिने ? अब भुक्तानी नभएसम्म अनिश्चितकालीन तालाबन्दी रहनेछ,” — निर्माण व्यवसायी सङ्घ बाँकेका अध्यक्ष लीला राज उपाध्यायले चेतावनी दिए।
त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख लक्ष्मण पोख्रेलले भुक्तानी ढिलाइ प्राविधिक समस्याका कारण भएको स्वीकार गरेका छन्।
यस भवनको निर्माण कार्य श्री जय भवानी मिल्सले सम्पन्न गरेको हो। तर, श्रमको मूल्य नपाएसम्म आन्दोलन जारी रहने व्यवसायीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »