४७औं पुष्पलाल स्मृति दिवसमा राप्ती सोनारीमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

राप्ती सोनारी -बाँके
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) राप्ती सोनारी गाउँपालिका–३ द्वारा आयोजित वडा स्तरीय अन्तरक्रिया कार्यक्रम एक भव्य र सुसंगठित रूपमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) वडा नम्बर ३ का अध्यक्ष क. मिन कुमार चौधरीले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य तथा पूर्व संविधानसभा सदस्य क. देवराज भार रहेका थिए।
उनले आफ्नो मन्तव्यमा पुष्पलालको योगदानलाई उच्च मूल्याङ्कन गर्दै भने,
“पुष्पलाल श्रेष्ठले समाज रूपान्तरणको सपना देखेका थिए। आजको पुस्ताले त्यो सपना पूरा गर्न सामाजिक न्याय, समानता र जनताको अधिकारको सुनिश्चितता गर्नुपर्ने बेला हो।”


कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य क. प्रशु नारायण थारुले भन्नुभयो,
“पुष्पलालको सपना साकार पार्न युवाहरुले अध्ययन, संगठन र संघर्षमा सक्रिय भूमिका लिनुपर्छ। उहाँले जुन वैज्ञानिक समाजवादको बाटो देखाउनुभयो, त्यो आज पनि उतिकै सान्दर्भिक छ।”


जिल्ला कमिटी सचिव क. बलराम भट्टराईले स्मरण गर्दै भने,
“आजको दिनमा हामीले आत्मसमीक्षा गर्नुपर्ने छ कि हामीले पुष्पलालको आदर्शलाई कतिसम्म आत्मसात गरिरहेका छौं। उहाँले सुरु गरेको राजनीतिक आन्दोलन अझ जनमुखी बनाउनु हाम्रो कर्तव्य हो।”


कार्यक्रममा नेकपा (एमाले) जनवर्गीय संगठन अन्तर्गत आदिवासी तथा जनजाति महासंघ केन्द्रीय सदस्य क. रामदास थारुले जोड दिँदै भन्नुभयो,
“पुष्पलालको विचार र दृष्टिकोणमा सबै उत्पीडित वर्गका हक अधिकारका विषय अटाउँछन्। अहिलेको सन्दर्भमा समावेशी आन्दोलनलाई अझ सशक्त बनाउन उहाँको शिक्षालाई व्यवहारमा उतार्नुपर्छ।”


गाउँपालिका कमिटी अध्यक्ष क. तुलसीराम थारुले कार्यक्रममा बोल्दै भने,
“पुष्पलाल स्मृति दिवस केवल कार्यक्रम सीमित होइन, यो दिन हाम्रो प्रतिबद्धता नवीकरण गर्ने समय हो। हाम्रो गाउँस्तरमा पनि संगठनलाई अझ बलियो बनाउँदै जनसम्बन्ध विस्तार गर्ने अभियान चलाइएको छ।”


कार्यक्रम संयोजनमा रहेका वडा अध्यक्ष क. मिन कुमार चौधरीले समापन मन्तव्यमा सबै अतिथि, सहभागी तथा जनसमुदायप्रति धन्यवाद दिँदै भने,
“पुष्पलालको आदर्शले हामीलाई समाज परिवर्तनको गहिरो प्रेरणा दिएको छ। संगठन, नीति र विचारमा स्पष्टता ल्याएर मात्र हामीले उहाँको सपना पूरा गर्न सक्छौं।”


यसै अवसरमा पुष्पलाल श्रेष्ठको जीवन र विचारमा आधारित छलफल, स्मरण वक्तव्य तथा विचार आदानप्रदान समेत गरिएको थियो। कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, शिक्षक, समाजसेवी, युवा तथा महिलाहरुको उल्लेख्य सहभागिता देखिएको थियो।


पुष्पलालको योगदानको संक्षिप्त स्मरण
क. पुष्पलाल श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछाप जिल्लाको भंगेरी गाउँमा भएको थियो। उनले नेपालमा पहिलोपटक वामपन्थी विचारधाराको बीजारोपण गर्दै २००६ साल वैशाख १० गते भारतको कोलकातास्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।
२०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएका पुष्पलालले नेपाली समाजमा वर्गीय समानता, समाजवादी मूल्य र जनताको सत्ता स्थापनाका लागि पुर्‍याएको योगदान आज पनि अनुकरणीय छ।
नेपालका अधिकांश वामपन्थी दलहरुले उहाँलाई आफ्नो मार्गदर्शक मान्दै विभिन्न कार्यक्रम र स्मृति सभामार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »