बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

बर्दिया, असार १० । बाँसगढी नगरपालिकालाई आधिकारिक रूपमा डिजिटल नगरपालिका घोषणा गरिएको छ। अबदेखि बाँसगढीवासीले अधिकांश नगरपालिका सेवा डिजिटल माध्यमबाट घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।

१७औं नगर सभाको अवसरमा नगर प्रमुख खडकबहादुर खड्काले बाँसगढीलाई डिजिटल नगर घोषणा गरे। सो अवसरमा प्रमुख खड्काले “डिजिटल बाँसगढी भर्सन–२” सार्वजनिक गर्दै घरमै सेवा लिन सकिने डिजिटल प्रणाली सुरु भएको जानकारी दिए।

यसअघि वैशाख २९ गते बाँसगढी नगरपालिका र राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागबीच बसेको संयुक्त बैठकबाट नगरपालिका सेवाहरूलाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी डिजिटल रूपमा प्रवाह गर्ने निर्णय भएको थियो।

सूचना प्रविधि अधिकृत क्षितिज पौडेलका अनुसार अब एक क्लिकमै सेवा दिन मिल्ने भएको छ। “राष्ट्रिय परिचय पत्रसँग जोडिएकाले आँखा स्क्यान, नागरिकता, मतदाता नामावलीलगायत सम्पूर्ण विवरण अटोमेटिक देखिन्छ,” पौडेलले जानकारी दिए।

बाँसगढीले लोकल डेटा सेन्टर स्थापना गरी प्रविधिमैत्री सेवा सुरु गरिसकेको छ। मोबाइलको प्लेस्टोरमा उपलब्ध “डिजिटल बाँसगढी–२” एप्स डाउनलोड गरेर, आवश्यक विवरण भरेपछि सेवाग्राहीले खाता खोल्न सक्नेछन्।

यस्तै, बाँसगढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९४ करोड २५ लाख रुपैयाँको बजेट पनि सोमबारको नगर सभामार्फत प्रस्तुत गरेको छ।

बाँसगढी नेपालको पहिलो नगरपालिका हो जसले पूर्ण रूपमा डिजिटल सेवा प्रणाली लागू गरेको छ। यो प्रणाली लागू भएसँगै वडा कार्यालयहरूमा सेवा भीड घट्ने र पारदर्शिता बढ्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »