नेपालगन्जबाट रुकुम जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना, १४ जना घाइते

सल्यान, – बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमका लागि छुटेको यात्रुबाहक फोर्स गाडी सल्यानमा दुर्घटनामा पर्दा १४ जना यात्रु घाइते भएका छन्।

भे १ ख ३९९४ नम्बरको उक्त गाडी नेपालगन्जबाट सल्यानको राघेचौरहुँदै रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गर्दा सल्यानको कुमाख गाउँपालिका–२ स्थित बढाइ ज्यूला नजिकै आज दिउँसो १ बजे दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार गाडी आफै अनियन्त्रित भई सडकबाट ४५ मिटर तल खसेको थियो। दुर्घटनाको सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय राघेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेका अनुसार, दुर्घटनामा परेका कुमाख गाउँपालिका–६ का २७ वर्षीय चालक पारश आचार्यको अवस्था गम्भीर छ।

घाइतेमध्ये एकजनाको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ भने बाँकी १३ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »