नेपालगञ्ज, बाँके — नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा उनीहरूले प्रहरीमाथि इँटा प्रहार गरेका थिए। इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन्।
प्रहरीले जवाफी कारबाहीस्वरूप गोली प्रहार गर्दा कार्त्तिककुमारको दायाँ खुट्टामा गोली लागी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
पक्राउ परेकाको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।