दुर्घटना न्यूनीकरणका लागि दाङ तुलसीपुरमा विद्यालय सवारी चालकलाई ट्राफिक प्रशिक्षण”

तुलसीपुर, दाङ —
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, दाङको विशेष पहल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेसनल प्याब्सन) दाङ शाखाको सहकार्यमा ट्राफिक सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२ साल असार १२ गते सम्पन्न उक्त कार्यक्रममा दाङका विभिन्न विद्यालयहरूमा कार्यरत करिब ३५ जना विद्यालय सवारी चालकहरू र अन्य गरी ४५ जना सहभागी रहेका थिए। कार्यक्रममा सहभागीहरूलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक नरेन्द्र शाहीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

तालिमका क्रममा प्रहरी नायब निरीक्षक शाहिले चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित र जिम्मेवार सवारी सञ्चालन, बालबालिकाको सुरक्षामा विशेष ध्यान, गाडीको नियमित मर्मत–सम्भार, यात्रु व्यवस्थापन, आकस्मिक अवस्थाको तयारीजस्ता विषयमा जानकारी दिनुभयो। उहाँले पछिल्लो समय विद्यालय सवारीसँग जोडिएका दुर्घटनाहरूको संख्या बढ्दै गएकाले सचेत र जिम्मेवार चालकको आवश्यकता झनै बढेको उल्लेख गर्नुभयो।

कार्यक्रमको उद्देश्य विद्यालय सवारी चालकहरूलाई नियमको पालनामा अभ्यस्त बनाउँदै ट्राफिक दुर्घटना घटाउने, विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने र समग्रमा सुरक्षित यातायात प्रणाली निर्माणमा सहयोग पुर्‍याउने रहेको आयोजकहरूले बताएका छन्

कार्यक्रममा सहभागी विद्यालय चालकहरूले यस्ता तालिमले आफूहरूलाई नियमप्रति गम्भीर बनाउने र बच्चाहरूको सुरक्षामा थप सजग हुन प्रेरणा दिने प्रतिक्रिया दिएका छन्। एक सहभागीले भने, “हामीले आज थुप्रै नयाँ कुरा सिक्यौं, अबबाट नियम कडाइका साथ पालना गर्छौं।”

नेसनल प्याब्सन दाङका प्रतिनिधिहरूले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। ट्राफिक प्रहरीले पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई अन्य नगरपालिका तथा विद्यालयस्तरमा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »