संयुक्त आन्दोलन परिचालन समितिले बाँकेले कोहलपुरस्थित चौराहामा आज चक्काजामको आह्वान गरेको छ । समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा सरकारले पक्राउ गरेका राजावादी नेताहरूको रिहाइको माग गर्दै आज चौराहामा चक्काजामको आह्वान गरेको हो ।
सोमबार समितिका ९ जना सदस्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा १५ गते आयोजना गरिएको शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले बल प्रयोग गरी आन्दोलनमा सहभागीहरूलाई उत्तेजित बनाइ धनजनको क्षति पु¥याउने काम गरेको उल्लेख गरिएको छ । ‘राष्ट्रवादी, हिन्दूवादी र राजावादी नेताहरू रविन्द्र मिश्र, बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डाक्टर धवलशमशेर राणासहितका मानिसहरूलाई तुरुन्त रिहाइको माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ । सोही माग अनुसार मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेको कोहलपुरस्थित चौराहा बन्द आह्वान गरिएको संयुक्त आन्दोलन परिचालन समिति बाँकेका संयोजक नरेन्द्रकुमार पौडेलले बताए ।
उनका अनुसार चौराहालाई केन्द्र बनाइ पूर्व पश्चिम, उत्तर र दक्षिण राजमार्गमा यातायात बन्दको आयोजना गरिएको हो । उक्त कार्यक्रमलाई आफ्नो तर्फबाट सहयोग गरिदिन विज्ञप्तिमार्फत यातायात व्यवसायी एवम् नागरिकहरूलाई अपिल गरिएको संयोजक पौडेलको भनाइ छ । यस्तै बन्द कार्यक्रमलाई निश्पक्ष ढंगबाट अनुगमन गर्न अधिकारकर्मी र पत्रकारहरूलाई अनुरोध गरिएको छ ।
यसैगरी, राजावादी नेताहरूलाई रिहाइ नगरेमा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइनेपनि उल्लेख गरिएको छ । बन्दको क्रममा अत्यावश्यक सवारी साधनहरू दमकल, एम्बुलेन्स खानेपानी, दुग्ध पदार्थ, विद्युत, रेडक्रस लगायतका साधनहरूलाई कुनैपनि किसिमको रोकटोक नगरिने पनि संयुक्त आन्दोलन परिचालन समिति बाँकेले जनाएको छ ।