कोहलपुरमा होर्डिङ बोर्ड आतंक: केही कन्सल्टेन्सीहरूको मनपरीले बजार कुरुप देखिदै

कोहलपुर, साउन २० – कोहलपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका कन्सल्टेन्सी तथा शिक्षासम्बन्धी संस्थाहरूले नगरपालिका नियमको अवहेलनासहित मनपरी ढंगमा राखेका होर्डिङ बोर्ड र प्रचार सामाग्रीका कारण बजार क्षेत्र दिनप्रतिदिन कुरूप बन्दै गएको छ।

नगरको मुख्य सडकदेखि भित्री गल्लीसम्म फैलिएको विज्ञापनको अव्यवस्थित जालोले न केवल नगरको सौन्दर्य बिगारिरहेको छ, दुर्घटनाको जोखिम समेत बढाइरहेको छ। थिङ्क एजुकेसनल कन्सल्टेन्सी, शारदा एजुकेसन पार्क र नाता इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी जस्ता संस्थाहरूले कुनै अनुमति नलिई अव्यवस्थित रूपमा बोर्ड टाँसेका छन्।

स्थानीयवासीहरूका अनुसार अब सडक पेटी हिँड्नसमेत गाह्रो हुन थालेको छ। झन ठूलो समस्या त तब देखिन्छ, जब ती होर्डिङ बोर्डहरू हावाहुरीमा झरेर पैदल यात्रु वा सवारी साधनमा ठोक्किने खतरा हुन्छ।

एक स्थानीयले आक्रोश पोख्दै भने, “हामी त बोर्डको जंगलमा बाँचिरहेका छौं। स्कुल जाँदा, हस्पिटल जाँदा पनि सडक पेटी छैन। जनताको जीवनभन्दा ठूलो कन्सल्टेन्सीको प्रचार हो?”

केही कन्सल्टेन्सीहरू नाचगान, खेलकुद र सांस्कृतिक कार्यक्रमको नाममा सार्वजनिक स्थानमा अनुमति बिना प्रचारप्रसार गर्दै आएका छन्। नगरप्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार, यस्ता गतिविधिहरू विज्ञापन नियमन ऐन २०७६ विपरीत छन्।

उनी भन्छन्, “कोहलपुरको सौन्दर्य जोगाउन विज्ञापन राख्ने स्पष्ट मापदण्ड छ। व्यवसायिक संस्थाहरूले एक भन्दा बढी बोर्ड राख्न अनुमति लिनु पर्छ, तर अहिलेसम्म कुनै पनि कन्सल्टेन्सीले अनुमति लिएको छैन।”

नगरपालिकाका अनुसार धेरैजसो कन्सल्टेन्सीहरू न नगरपालिका दर्ता छन्, न त नियमअनुसार प्रचार गरिरहेका छन्। थापाले भने, “कन्सल्टेन्सी कानुनी रूपमा सञ्चालन गर्न नगरपालिका वा सम्बन्धित निकायमा दर्ता भएको प्रमाण हुनुपर्छ। एउटा मात्र बोर्ड राख्न पाइन्छ, त्यो पनि तोकिएको साइजमा।”

उनी भन्छन्, “कसैले निजी घरभित्र कन्सल्टेन्सी चलाए पनि बाहिर बोर्ड राख्नुअघि वडा कार्यालय वा नगरपालिकाबाट अनुमति लिनुपर्ने हुन्छ।”

नगर प्रहरीका अनुसार अब नियम उल्लंघन गर्ने संस्थामाथि सीधा जरिवाना र कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ। “नाचगान र खेलकुदका नाममा सार्वजनिक स्थानमा मनपरी प्रचार गर्न पाइँदैन। हामीले अनुगमन तीव्र पारिसकेका छौँ,” थापाले स्पष्ट पारे।

नगरपालिकाले मापदण्ड विपरीत प्रचारप्रसार गर्ने, सडकमा अनधिकृत रूपमा होर्डिङ बोर्ड टाँस्ने, ट्राफिक अवरोध गर्ने कन्सल्टेन्सीहरूलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ।

यदि तत्काल नगरपालिकाले ठोस कदम चालेन भने, कोहलपुर बजार क्षेत्र एक व्यापारिक जंगलमा परिणत हुन सक्छ, जसको प्रत्यक्ष असर जनजीवन र सार्वजनिक सुरक्षामा पर्न सक्छ। नगर प्रमुख, प्रहरी र सरोकारवालाहरू अब कति गम्भीर ढंगले अघि बढ्छन् भन्ने कुराले कोहलपुरको शहरी अनुहारको भविष्य निर्धारण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »