नेकपा एमाले बाँके जिल्ला कमिटीले युवा परिचालन र संगठन विस्तारमा विशेष योगदान पुर्याउने लक्ष्यसहित उमेश जंग ठकुरीलाई राष्ट्रिय युवा संघ नेपाल, बाँकेको सह-इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ। फागुन ६ र ७ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनलाई युवा क्लस्टरमा मनोनित गर्दै यो महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले ठकुरीलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टी विस्तार, विकास र युवा परिचालनमा उनको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। उनले भने, “युवाहरू देशको भविष्य हुन्, उनीहरूको सक्रिय सहभागिताले मात्र पार्टी बलियो बन्छ। ठकुरीको नेतृत्वमा बाँकेका युवाहरू अझ संगठित हुनेछन्।”
ठकुरी युवाहरूमाझ लोकप्रिय र सक्रिय नेताका रूपमा परिचित छन्। लामो समयदेखि युवा परिचालन र सामाजिक कार्यमा संलग्न उनको अनुभवले पार्टीलाई युवाहरूसम्म पुग्न र समर्थन जुटाउन मद्दत गर्ने विश्वास लिइएको छ।
जिम्मेवारी पाएको अवसरमा ठकुरीले पार्टी र युवाहरूबीच समन्वय गर्दै संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो मेरो लागि अवसर र चुनौती दुवै हो। म पार्टीका नेता तथा कार्यकर्ताहरूको विश्वासलाई कायम राख्दै युवाहरूलाई पार्टीको मूलधारमा जोड्नेछु।”
उनले युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउने, क्षमता विकास गर्ने र सामाजिक मुद्दाहरूमा सक्रिय बनाउने योजना सुनाए। साथै, युवाहरूलाई देशको विकास र समृद्धिका लागि एकजुट हुन आह्वान गर्दै पार्टीले युवाहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।
नेकपा एमाले बाँकेले ठकुरीको नेतृत्वमा युवाहरूलाई संगठित गर्दै पार्टीलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।