बाँकेको कोहलपुर–२, पुष्पनगरस्थित एभरेस्ट सैनिक माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। कौशिल्या अस्पताल प्रा.लि.को आयोजनामा र विद्यालयको प्रत्यक्ष समन्वयमा सम्पन्न उक्त स्वास्थ्य शिविरबाट करिब ३०० विद्यार्थीले आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।

शिविरमा नेत्र विशेषज्ञहरूले विद्यार्थीहरूको दृष्टि परीक्षण, चश्मा जाँच, आँखासम्बन्धी रोग पहिचान तथा आवश्यक परे थप उपचारका लागि सिफारिससमेत प्रदान गरेका थिए। विद्यालय प्रशासनले स्वास्थ्य परीक्षणलाई विद्यार्थीहरूको शैक्षिक जीवनसँग प्रत्यक्षरूपमा जोडिएको आवश्यक पहल भन्दै नियमित रूपमा यस्ता कार्यक्रमहरू अघि बढाइने जनायो।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल महेन्द्र शर्माले निःशुल्क आँखा जाँचले विद्यार्थीहरूको सिकाइ क्षमता, आत्मविश्वास र स्वास्थ्य सुरक्षामा ठूलो सहयोग पुग्ने बताए।
उनका अनुसार, “विद्यार्थीको हरेक स्वास्थ्य पक्षलाई विद्यालयले प्राथमिकता दिन्छ। विशेषगरी आँखाको समस्या समयमै पत्ता नलाग्दा पढाइमा गम्भीर असर पर्न सक्छ। त्यसैले हामीले ३०० भन्दा बढी विद्यार्थीलाई एकैदिन गुणस्तरीय सेवा उपलब्ध गराउन सफल भएका छौँ। भविष्यमा यस्तै स्वास्थ्य केन्द्रित कार्यक्रमहरू निरन्तर गर्दै लैजाने हाम्रो योजना छ।”

शर्माले कौशिल्या अस्पताललाई सहकार्यका लागि धन्यवाद दिँदै विद्यालय र समुदायबीचको साझेदारीले छात्रछात्राको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।