बैजनाथको किसानमैत्री कदम: ११ कृषकलाई ७०% अनुदानमा ई–लोडिङ रिक्सा

बैजनाथ (बाँके) —
बैजनाथ गाउँपालिकाले “किसानसँग पालिका प्रमुख कार्यक्रम” अन्तर्गत ७० प्रतिशत अनुदानमा ११ जना किसानलाई अटो ई–लोडिङ रिक्सा वितरण गरेको छ। कृषि यान्त्रीकरण र बजार पहुँचलाई सहज बनाउन लक्षित यो कार्यक्रममार्फत स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल र अन्नबालीहरू अब सजिलै बजारसम्म पु¥याउन सक्ने भएका छन्।

आर्थिक वर्ष २०८१/८२ का लागि छुट्याइएको ३० लाख रुपैयाँ बजेटबाट छनोट भएका किसानलाई यो सुविधा प्रदान गरिएको हो। पालिकाका अनुसार, यस योजनाले कृषकहरूको आयआर्जन वृद्धि, समयमै उत्पादनको बिक्री र आत्मनिर्भरता विकासमा टेवा पुर्‍याउनेछ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले कार्यक्रमको औपचारिक घोषणामा भने, “अब किसानले आफ्नो उत्पादन बेच्न बजार जान गाह्रो मान्नुपर्ने दिन गए। यो रिक्सा उनीहरूको सशक्त साथीजस्तै हुनेछ।”

कार्यक्रमप्रति स्थानीय कृषकहरू पनि उत्साहित देखिएका छन्। उनीहरूका अनुसार, पालिकाको यस्तो सहयोगले उनीहरूको उत्पादन उचित मूल्यमा समयमा नै बिक्री गर्न सकिने वातावरण निर्माण गरेको छ। साथै, खेतीपातीमा थप लगानी र प्रेरणा मिलेको अनुभव उनीहरूले साझा गरे।

बैजनाथ गाउँपालिका पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रीकरण, प्रविधिमैत्री अभ्यास र तालिममार्फत कृषकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। पालिकाले आगामी वर्षहरूमा किसानलाई सहुलियत दरमा उपकरण, बीउ वितरण तथा तालिम सञ्चालन र बजार पहुँचको दायरा विस्तार गर्ने योजनामा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »