नेपालगन्ज वटरपार्क परिसरमा भोलि देखि ब्यापार एवं पर्यटन महोत्सव हुदै

नेपालगञ्जमा भोलिदेखि व्यापार तथा पर्यटन महोत्सव हुँदै, सबै तयारी पूरा

नेपालगञ्ज ५ चैत्र । नेपालगञ्जको वाटरपार्कमा भोलि चैत ६ गते सोमबारदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव हुँदैछ ।

आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव सञ्चालनको सबै तयारी पूरा भएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिनुभयो ।

महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको महासंघका महासचिव आरके भुसालले जानकारी दिनुभयो ।

महोत्सवको भोलि दिउसो ३ बजेदेखि लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमूनाले उद्धाटन गर्ने कार्यक्रम रहेको छ । उद्धाटन पूर्व नेपालगञ्जको सेतु विक चोकवाट महोत्सवस्थल वाटरपार्क परिसरसम्म विभिन्न जातजाति, भाषाभाषीका आकर्षक झाँकी प्रदर्शन हुने अध्यक्ष खडकाले बताउनुभयो ।

लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान तथा उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको महासंघले जनाएको छ ।

यस्तै महोत्सवको थप आकर्षणमा सांगितिक कार्यक्रम रहन् छ । सांगितिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ । चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका बीचमा होलि पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम हुनेछ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »