कोहलपुर-१३ बाल शिक्षा माविका विद्यार्थी अब पिउनेछन् शुद्ध र चिसो पानी!

कोहलपुर, बाँके — कोहलपुर नगरपालिका–१३ स्थित बाल शिक्षा माध्यमिक विद्यालय, भरैयाका विद्यार्थीहरुले अब विद्यालय प्रांगणमै शुद्ध र चिसो पानी पिउन पाउने भएका छन्। करिब १ लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरिएको वाटर कुलर विद्यालयलाई हस्तान्तरण गरिएको छ, जसले विद्यार्थी र विद्यालय परिवारलाई ठूलो राहत दिएको छ।

Oplus_131072

केही समय अघिसम्म पानी नहुँदा विद्यार्थीहरुलाई नजिकैको झोलुङ्गे पुल तरेर पानी पिउन जानुपर्ने बाध्यता थियो। भुमिगत जलस्रोत सुकेपछि कल धारामा पानी आउन बन्द भएको र नयाँ बोरिङबाट आउने पानी धमिलो भएपछि पिउन योग्य थिएन। यसैबीच लायन्स क्लब अफ कोहलपुर सयपत्रीले फिल्टरसहितको वाटर कुलर प्रदान गरेपछि विद्यालयले शुद्ध पिउने पानीको समस्या समाधान गर्न सफल भएको हो।

सोमबार आयोजित कार्यक्रममा लायन्स क्लब र लायन्स जिल्ला ३२५ एनको आर्थिक सहयोगमा प्राप्त वाटर कुलर विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। लायन्स जिल्ला ३२५ एनका गभर्नर विनोद कुमार श्रेष्ठ, क्लब अध्यक्ष सुवर्णा खनाल र अन्य पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक **टर्क वहादुर खत्रिलाई संयुक्त रुपमा वाटर कुलर हस्तान्तरण गरे।

कार्यक्रममा सहयोगी लायन्स सदस्यहरू शान्ति गैरे, अनिता पौडेल, विष्णु भुषाल, रविना पौडेल, मञ्जु भण्डारी, रोशनी थैव र बाह्य सहयोगी दुर्गा भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा लायन्स लिडर चिन्तामणि धिताल, एरिया चिफ राजु रिजाल, विद्यालय शिक्षक लिलाराज वली लगायतको उपस्थिति रहेको थियो।

विद्यालयले क्लबलाई “मायाको चिनो” प्रदान गर्दै आभार प्रकट गरेको थियो भने कार्यक्रमको सञ्चालन क्लबकी उपाध्यक्ष अञ्जना पाण्डेले गरेकी थिइन्।

लायन्स क्लब अफ कोहलपुर सयपत्रीले यसअघि पनि कोहलपुर–१२ मा वृद्ध आश्रममा शौचालय निर्माण, जन्मदिन तथा उत्सवमा तडकभडक कम गरी बचत रकमबाट सामाजिक सेवा गर्दै आएको उल्लेख गरियो।

शुद्ध पिउने पानीको आपूर्तिमा सहजता ल्याउने यो पहल समाजमा सेवामूलक संस्थाहरुको उदाहरणीय योगदानको रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »