कोहलपुर, बाँके — बाँकेको कोहलपुर–११ साझाचोकस्थित ज्ञान बहुमुखी क्याम्पस मा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (विद्यार्थी गुणस्तर समिति) गठन गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा १५ सदस्यीय नयाँ समिति गठन गरिएको हो।
नवगठित समितिको संयोजकमा बीएड प्रथम वर्षकी सिर्जना बिक, उप–संयोजकमा बीबीएस प्रथम वर्षका सुवास चालिसे र सदस्य सचिवमा बीएड द्वितीय वर्षका कमल ओली चयन भएका छन्। यसअघि संयोजक रहेका कन्जन सोनीको दुई वर्षे कार्यकाल सकिएपछि नयाँ समिति गठन गरिएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले जानकारी दिनुभयो।
क्याम्पस प्रशासनका अनुसार उक्त समितिले शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन परीक्षण, सिकाइ उपलब्धि मापन, शैक्षिक अनुगमन तथा प्रतिवेदन तयार गर्ने जस्ता महत्वपूर्ण काम गर्नेछ। साथै, विद्यार्थीहरूको सिकाइ अवस्था विश्लेषण गरी सुधारका योजना बनाउने, विभिन्न पृष्ठभूमिका (लैङ्गिक तथा अपाङ्गता भएका) विद्यार्थीहरूका लागि समावेशी र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पहल गर्ने दायित्व पनि समितिलाई दिइएको छ।
यसैगरी, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भोगिरहेका समस्या तथा गुनासाहरू प्रत्यक्ष रूपमा सम्बन्धित निकायसम्म पुर्याउने, समाधानका लागि पहल गर्ने तथा शैक्षिक वातावरण सुधारका लागि सुझाव प्रस्तुत गर्ने काममा समेत समिति सक्रिय रहने अपेक्षा गरिएको छ।
२०६६ सालमा स्थापना भएको उक्त क्याम्पस बाँके जिल्लामै उत्कृष्ट नतिजा दिँदै आएको शिक्षण संस्था हो। हाल क्याम्पसमा व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गत करिब ७७५ विद्यार्थी अध्ययनरत छन्।
क्याम्पस प्रमुख गुरुङका अनुसार विद्यार्थीहरूको सहभागिता बढाउँदै शैक्षिक सुधारलाई प्रभावकारी बनाउन ‘स्टुडेन्ट क्वालिटी सर्कल’ को अवधारणा ल्याइएको हो। “विद्यार्थीको समस्या बुझ्न, अनुशासन सुदृढ गर्न र शिक्षण–सिकाइ प्रक्रियामा सुधार ल्याउन यस्तो समिति आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।
क्याम्पसले २०८१ सालमा पहिलो पटक गठन गरिएको यस समितिको प्रभावकारिता सकारात्मक देखिएपछि दोस्रो कार्यकालका लागि पुनः नयाँ समिति गठन गरिएको जनाएको छ। विद्यार्थीको सक्रिय सहभागितामार्फत गुणस्तरीय शिक्षामा थप सुधार ल्याउने लक्ष्यसहित समिति गठन गरिएको क्याम्पसले जनाएको छ।
ज्ञान बहुमुखी क्याम्पस कोहलपुरमा ‘स्टुडेन्ट क्वालिटी सर्कल’ गठन