कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस भव्यरुपमा सम्पन्न


बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको दिवसका अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो।
नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिका को आर्थिक सहयोगमा एकदिने निःशुल्क दन्त तथा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न गरिएको थियो। शिविरमा स्थानीय सर्वसाधारण तथा मगर समुदायका सदस्यहरूले स्वास्थ्य परीक्षण गराएका थिए।


कार्यक्रमको औपचारिक उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा नगरप्रमुख आचार्यले मगर समुदाय नेपालको साहसी, पराक्रमी र ऐतिहासिक योगदान बोकेको समुदाय भएको उल्लेख गर्दै समुदायको सम्मानमा नगरपालिकाले स्थानीय बिदा दिँदै आएको तथा हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिए।


औपचारिक समारोहअघि कोहलपुर चौराहाबाट सुरु भएको बृहत् सांस्कृतिक ¥याली न्युरोड, साझा चोक हुँदै कोहलपुर–११ स्थित न्युरोड मैदानसम्म पुगेको थियो। ¥यालीमा मगर समुदायको मौलिक संस्कृति झल्काउने बाजागाजा, पारम्परिक नृत्य तथा सांगीतिक प्रस्तुति आकर्षणका केन्द्र बनेका थिए।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समिति का महासचिव टेक नामजाली मगरले लाखौं मगरहरूको साझा संगठन नेपाल मगर संघलाई सबैले हातेमालो गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले संगठनात्मक एकता र सांस्कृतिक संरक्षण आजको मुख्य आवश्यकता भएको बताए।
त्यस्तै, नेपाल मगर संघ कोहलपुर नगर कमिटीका नव निर्वाचित अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कविराम पुलामी मगरले स्थानीय सार्वजनिक बिदा घोषणा गरिए पनि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण निजी विद्यालय बन्द नभएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा पुनर्विचार आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति सदस्य कृष्णबहादुर पुन मगर, नेपाल मगर संघ बाँके जिल्ला समिति अध्यक्ष भूपेन्द्र पुनलगायत मगर संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
“ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौँ, मगरात दर्शन निर्माणको संकल्प गर्दै संघको ४४औँ स्थापना दिवस मनाऔँ” भन्ने मूल नारासहित बाँकेका विभिन्न पालिकामा समेत राष्ट्रिय मगर एकता दिवस मनाइएको आयोजकले जनाएको छ।
दिवसले मगर समुदायको पहिचान, एकता र सांस्कृतिक संरक्षणप्रति प्रतिबद्धता अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »