एभरेस्ट सैनिक स्कुलको ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न

कोहलपुर नगरपालिका–२ मा अवस्थित एभरेस्ट सैनिक स्कुलले आफ्नो ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।


विद्यालयका संस्थापक अध्यक्ष तपेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार प्रमुख अतिथिका रूपमा सहभागी भई पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे। आफ्नो मन्तव्यमा उनले पढाइसँगै विद्यार्थीहरूलाई सिप, खेलकुद र डिजिटल माध्यमबाट पनि अघि बढाउनुपर्नेमा जोड दिँदै समग्र व्यक्तित्व विकासमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए।


प्रमुख अतिथि मिजारले विद्यालयमा प्रस्तुत कला, साहित्य तथा विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै पहिलो शिक्षा नै जीवनको आधार भएको उल्लेख गरे। असफलताबाट सिकेर अघि बढ्नुपर्ने र हरेक चुनौतीभित्र अवसर लुकेको हुने उनको भनाइ थियो।


कार्यक्रममा विद्यालयका अध्यक्ष तपेन्द्र बिष्टले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय निरन्तर सक्रिय रहेको बताए। यस विद्यालयका पूर्वविद्यार्थीहरू डाक्टर, पाइलट लगायत विभिन्न क्षेत्रमा सफल भएको चर्चा गर्दै उनले विद्यालयप्रति गर्व व्यक्त गरे।


उत्सवका अवसरमा विविध वैज्ञानिक प्रयोगका नमुना प्रदर्शन, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिताका पुरस्कार वितरण लगायतका गतिविधि सम्पन्न गरिएको थियो।
कार्यक्रमको शुभारम्भ विद्यालयका प्रधानाध्यापक महेन्द्र शर्माको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा विद्यालय सञ्चालक टोपेन्द्र बहादुर के.सी., शिक्षक संघ कोहलपुरका अध्यक्ष दीपक मल्ल, वडा सदस्य पुरण थारु, प्याब्सन कोहलपुरका अध्यक्ष रमेश के.सी., प्याब्सन बाँकेका प्रमुख सल्लाहकार गोविन्द सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसाल लगायत अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »