कोहलपुर — आधुनिक र प्रभावकारी अभिभावकत्वबारे सचेत गराउने उद्देश्यले कोहलपुरमा ‘The Art of Good Parenting’ शीर्षकमा विशेष अभिमुखीकरण तालिम सम्पन्न भएको छ। कोहलपुर–१२ स्थित Gyankunj E.M. School द्वारा आयोजना गरिएको उक्त कार्यक्रम चप्परगौडीस्थित सुनाखरी होटलमा बिहीबार सम्पन्न भएको हो।

प्रि–प्राइमरी तह (नर्सरीदेखि यूकेजीसम्म) अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा करिब ३५० जना अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक ईश्वरीप्रसाद बिक तथा विशिष्ट अतिथिका रूपमा नगर शिक्षा शाखा प्रमुख रविलाल मिजार सहभागी रहेका थिए। अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमका प्रमुख प्रशिक्षक कृष्णप्रसाद रिजालले बदलिँदो समयसँगै बालबालिकाको मनोविज्ञान बुझ्न अभिभावकले अपनाउनुपर्ने व्यवहार, अनुशासन र माया–ममता बीचको सन्तुलनबारे विस्तृत रूपमा जानकारी दिएका थिए। उनले बालबालिकाको समग्र विकासका लागि घरको वातावरण, अभिभावकको भूमिका तथा प्रभावकारी संवादको महत्त्वमा विशेष जोड दिएका थिए।

विद्यालयका संस्थापक अध्यक्ष महेन्द्र कार्कीले अभिभावकलाई आफ्ना सन्तानको मनोविज्ञान बुझ्न सक्षम बनाउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको बताए। उनले यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिकसँगै व्यवहारिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य लगायत विभिन्न प्रतिभा प्रस्तुत गर्दै माहोललाई अझ आकर्षक बनाएका थिए। सहभागी अभिभावकहरूले यस्ता तालिमले सन्तानलाई सही मार्गदर्शन गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
आयोजक विद्यालयले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।