बाँके — कोहलपुर नगरपालिका–१२ स्थित डाइमण्ड स्टार एकेडेमीले आफ्नो ७औं वार्षिक उत्सव तथा अभिभावक दिवस होटल सुनाखरीमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा करिब २२० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालयकी अध्यक्ष सुनिता थापा ताम्राकारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिक उपस्थित रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिमा कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत पुष्पराज शाही तथा विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक तिमोथी ताम्राकार लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि ईश्वरी प्रसाद बिकले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षासँगै संस्कार र सीप विकासमा जोड दिनुपर्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

त्यसैगरी, विशिष्ट अतिथि पुष्पराज शाहीले विद्यालय र अभिभावकबीचको सहकार्यले मात्र शिक्षाको गुणस्तर अभिवृद्धि हुने उल्लेख गर्दै विद्यार्थीको समग्र विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले कलासंस्कृति झल्किने विभिन्न नृत्य, गजल तथा गीतमार्फत आकर्षक प्रस्तुति दिएका थिए। साथै, विद्यालयले उत्कृष्ट शिक्षकका रूपमा देवीका खत्री र उत्कृष्ट अभिभावकका रूपमा बबिता खत्रीलाई सम्मान गरेको थियो। अन्य विभिन्न विधामा विद्यार्थीहरूको प्रतिभा कदर गर्दै पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, विद्यालयका संरक्षक तथा शुभचिन्तकहरूलाई पनि विशेष सम्मान गरिएको थियो, जसले विद्यालयको विकासमा पुर्याएको योगदानको कदर गरिएको आयोजकले जनाएको छ।



विद्यालयका प्रबन्ध निर्देशक तिमोथी ताम्राकारले विद्यालयले विगत ७ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।
