कोहलपुर, बाँके।
आजको कोहलपुरमा शैक्षिक प्रतिस्पर्धा तीव्र छ । तर करिब २५ वर्षअघि अवस्था बिल्कुलै फरक थियो । बस्ती पातलो, जनसंख्या न्यून र निजी विद्यालयको संख्या औँलामा गन्न सकिने । त्यही परिवेशमा २०५० को दशकतिर गोरखा स्कुल पब्लिक स्कुलको स्थापना भयो ।
त्यतिबेला कोहलपुरमा रामजानकी, ग्रिनपिस, बालज्योती, बालविद्या र दीपज्योति विद्याश्रम जस्ता सीमित विद्यालय मात्रै थिए । द्वन्द्वकालको चरम अवस्था चलिरहँदा भविष्य देखेर शिक्षामा लगानी गर्नु जोखिमकै निर्णय मानिन्थ्यो । तर बस्ती विस्तार र जनसंख्या वृद्धिको आँकलन गरेका पूर्वलाहुरेहरूको समूहले गोरखा स्कुल स्थापना गर्ने साहसिक कदम चाल्यो ।

विदेशमा कमाएको पैसा “जुवा खेल्न लागेको” भन्दै केहीले खिसिट्युरी पनि गरे । तर ती टिप्पणीहरूले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा सेवा गरिसकेका संस्थापकहरूलाई रोकेनन् । सानो–सानो पूँजी जुटाएर विद्यालय सुरु गरियो ।
केशर बहादुर आले मगरको बुलन्द नेतृत्व र निरन्तर निगरानीमा गोरखा स्कुल छोटो समयमै अभिभावकको रोजाइमा पर्न सफल भयो । यतिसम्म कि एक समय विद्यालयमा आफ्ना बालबालिका भर्ना गराउन कोटा सीमित हुँदा भनसुन गर्नुपर्ने अवस्था आयो । २०६० को दशकसम्म आइपुग्दा गोरखामा भर्ना नै प्रतिस्पर्धा बनेको अभिभावकहरूको तीतो यथार्थ छ ।

२०६३ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी गराएको गोरखाले सोही दशकमा तत्कालीन मध्यपश्चिम क्षेत्रमै उत्कृष्ट नतिजा ल्याएपछि विद्यालयको उचाइ झनै चुलियो ।
सिमित जग्गाबाट सुरु भएको विद्यालयले विद्यार्थीको चापसँगै भौतिक पूर्वाधार विस्तारमा पनि गति लियो । आज विद्यालय २.५ बिघा क्षेत्रफलमा फैलिएको छ । वातावरणमैत्री कक्षाकोठा, वैज्ञानिक पाठ्यक्रम, डिजिटल शिक्षण विधि र प्रयोगात्मक शिक्षामा जोड दिँदै विद्यालयले अहिले बीएस्सी एजीसम्म अध्यापन गराउँदै आएको छ ।
यस अवधिमा गोरखा स्कुलले डाक्टर, इन्जिनियर, पाइलट, आईटी विज्ञ, निजामती कर्मचारी र शिक्षकजस्ता दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । विद्यालयका प्रिन्सिपल साधना थापाका अनुसार गोरखा स्कुल आगामी यात्रामा टिम स्पिरिट र स्पष्ट एक्सन प्लानसहित अघि बढिरहेको छ ।

यही गौरवशाली यात्राको उत्सवस्वरूप विद्यालयले माघको तेस्रो साता २५ औँ वर्षगाँठ अर्थात रजत जयन्ति भव्य रूपमा मनाएको हो ।
माघ १५ देखि १७ गतेसम्म चलेको रजत जयन्ति कार्यक्रमअन्तर्गत पहिलो दिन खेलकुद उत्सव आयोजना गरियो । अभिभावक दिवसका अवसरमा विविध सांस्कृतिक प्रस्तुति, कला–संस्कृति प्रदर्शनी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।

विद्यार्थीहरूले तयार पारेका शैक्षिक नवप्रयोगहरू स्टलमार्फत प्रदर्शनीमा राखिएको थियो । बालबालिकाले आत्मविश्वासका साथ शैक्षिक सामग्रीबारे ब्रिफिङ गर्ने शैलीले अभिभावकहरूलाई आकर्षित गरेको उनीहरूको प्रतिक्रिया थियो ।

शनिबार मूल समारोहका साथ रजत महोत्सवको औपचारिक समापन गरियो । समापन अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल प्रमुख अतिथिका रूपमा सहभागी भए । उनले गोरखा स्कुलले २५ वर्षमा हासिल गरेको शैक्षिक उचाइको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाले देशको भविष्य निर्माण गर्ने उल्लेख गरे । बाँके जिल्लाको शैक्षिक साख जोगाउन विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती न्यौपाने अधिकारी, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुबेदी, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, त्रिविका पूर्व प्रोफेसर प्रा.डा. गोविन्दप्रसाद ढकाल, पूर्व जिल्ला शिक्षा अधिकारी दुर्गानाथ गौतम तथा गोरखा अल्मुनाईहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
माघ १७ गते राष्ट्रिय कलाकार टिका पुनको विशेष प्रस्तुतीसहित सांगीतिक साँझ आयोजना गरिएको थियो । बेहुलीजस्तै सिंगारिएको विद्यालय परिसर, प्रवेशद्वारमै अध्यक्ष केशर बहादुर आले मगरद्वारा अतिथिहरूको स्वागत र आतिथ्य शैलीले समारोहलाई थप स्मरणीय बनाएको थियो ।
कार्यक्रमका सभापति एवं विद्यालयका सञ्चालक अध्यक्ष आले मगरले २५ वर्षे यात्रामा साथ दिने अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री र उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता जनाए ।
रजत जयन्तिको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए भने उत्कृष्ट विद्यार्थी तथा दीर्घ सेवा गर्ने शिक्षक–कर्मचारीलाई सम्मान गरिएको थियो ।