बिकल भट्टराई,कोहलपुर ।
वर्ल्डलिङ्क शाखा कार्यालय कोहलपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कार्यालय परिसरमै विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सक्रिय समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, वर्ल्डलिङ्कका कर्मचारी तथा विभिन्न क्षेत्रका युवाहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमबाट करिब ३५ पिन्ट रगत संकलन गरिएको शाखा कार्यालयका म्यानेजर खगेन्द्र भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समयमा रगतको अभाव तीव्र रूपमा देखिएको कारण यो कार्यक्रमलाई अझै प्रभावकारी बनाइएको हो। “नियमित रक्तदानले ज्यान बचाउन सहयोग पुग्ने भएकाले यसलाई सामाजिक सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिन सकिन्छ,” म्यानेजर भट्टले बताउनुभयो।

उहाँले वर्ल्डलिङ्क केवल इन्टरनेट सेवा प्रदायक मात्र नभई समुदायसँग जोडिएको सामाजिक संस्थाका रूपमा पनि योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। रगत जीवन र मृत्युबीचको पुल भएको भन्दै उहाँले “रक्तदान नै महादान” भन्ने भनाइलाई आत्मसात गर्दै आगामी दिनमा पनि वर्ल्डलिङ्कले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा उपस्थित स्वयंसेवक, रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले पनि वर्ल्डलिङ्कको प्रयास प्रशंसनीय भएको बताएका छन्। साथै, पछिल्लो समय अस्पतालहरूमा रगतको माग अत्यधिक बढेकाले यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुर्याइरहेको समेत उल्लेख गर्नुभयो ।