कोहलपुर–११, दशबिघास्थित होटल ट्री टप हेभन प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा उत्साहपूर्वक प्रवेश गरेको छ। पश्चिम नेपालका आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको होटलले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै तेस्रो वर्षमा पाइला टेकेको हो।

कार्यक्रमका दौरान होटलका सञ्चालक निरज चलाउनेले २०८० साल असार २९ गतेदेखि होटलले सेवा प्रारम्भ गरेको स्मरण गर्दै विगत दुई वर्षमा होटलले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई गुणस्तरीय सेवा दिँदै आएको जानकारी दिए। उनले होटलको निरन्तर प्रगति पछाडि ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवा–गुणस्तरप्रतिको प्रतिबद्धता मुख्य आधार रहेको उल्लेख गरे।

उनका अनुसार, होटल स्थापना भएदेखि नै शुद्ध, सफा र व्यवस्थित सेवा दिन प्रयासरत रहेको र आगामी दिनहरूमा अझ आधुनिक र ग्राहकमैत्री सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। उनले होटललाई केवल बसोबासको ठाउँ नभई, पर्यटकको अनुभवलाई स्मरणीय बनाउने थलो बनाउने योजना रहेको बताए।
सो अवसरमा होटल ट्री टप हेभनका जनरल म्यानेजर तिलक शाहीले पनि आफ्नो भनाइ राख्दै होटलले तेस्रो वर्ष प्रवेश गरेकै दिन खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जबाट खाद्य स्वच्छता ‘क’ वर्ग (अतिउत्तम) प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए। यो प्रमाणपत्रले होटलको स्वच्छता र सेवा गुणस्तरप्रति प्रतिबद्धता प्रमाणित गरेको उनको भनाइ थियो।
उनले थपे, “पछिल्ला दुई वर्षमा हामीले पाएका ग्राहकहरूको माया, साथ र सद्भावले हामीलाई हौसला दिएको छ। भविष्यमा झन गुणस्तरीय, स्वस्थ र स्मरणीय सेवा प्रदान गर्दै अगाडि बढ्ने अठोट लिएका छौं।”
कार्यक्रममा होटलसँग सम्बन्धित कर्मचारी, ग्राहक, शुभचिन्तक र स्थानिय व्यक्तिहरूको उपस्थिति थियो। केक काटेर, आपसी खुसी साटेर र छोटो साँस्कृतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको थियो।
होटल ट्री टप हेभनले कोहलपुरको पर्यटन, सेवा र आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। भविष्यमा अझ उत्कृष्ट सेवा प्रवाहका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा होटलको छवि स्थापित गर्ने लक्ष्य रहेको सञ्चालकहरूको भनाइ थियो।