भारतमा १५ तोला सुनका गहना र ८ लाख लुटेर आएका ६ नेपाली कोहलपुरमा पक्राउ

घरेलु कामदार बनेर विश्वास जितेपछि घरधनी नभएको मौका छोपी गहना र नगद लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ कालिकोटका नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना र सात लाख ८७ हजार रुपैयाँ बरामद गरिएको छ।
बाँके जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका लागि सात दिनको थुनामा राख्न म्याद दिएको छ।
३१ असार, काठमाडौं । भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली पक्राउ परेका छन्। पक्राउ परेका सबै कालिकोटका हुन्।

उनीहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद सात लाख ८७ हजार रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका ९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका १ का ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँकै ४२ वर्षीय तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका ८ का १८ वर्षीय पङ्कज केसी, सोही ठाउँका ३८ वर्षीय अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री छन् ।

डीएसपी खनालका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका ११ स्थित होटल न्यु कालिकोटेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू भारतको दिल्लीस्थित एक घरबाट धनमाल लुटेर आई त्यहाँ बसिरहेका थिए।

पक्राउ परेकामध्ये २८ वर्षीया सरिता करिब एक वर्षअघि नयाँ दिल्लीस्थित सो घरमा काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार समूहका सदस्यको योजनाअनुसार नै सरिता परिचालित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »