सडक दुर्घटना न्यूनीकरणमा ध्यान, ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड
बैजनाथ, बाँके ।
सडक दुर्घटनाको दर न्यूनीकरण गर्न लक्ष्य राखी बैजनाथ गाउँपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा, तथा शोभा यातायात प्रा.लि.को आयोजनामा अटो चालकहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश ब. शाहीले अटो लगायत साना सवारीसाधनहरू दैनिक जनजीवनमा घुलमिल भएकाले चालकहरूको सचेतना अत्यन्त आवश्यक रहेको बताउँदै भन्नुभयो, “हामी सबैको सवारी यात्रा सुरक्षित बनाउन चालकको जिम्मेवारी महत्वपूर्ण हुन्छ।”
विशिष्ट अतिथि वडा नं. ५ का अध्यक्ष देव बहादुर रावतले ट्राफिक नियमको जानकारी र व्यवहारिक प्रयोगले मात्रै दुर्घटना घट्न सक्ने बताउँदै यस प्रकारको तालिम नियमित रूपमा हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्कर राज पन्तले सहभागी अटो चालकहरूलाई सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक चिन्हहरूको अर्थ, गति सीमा, यात्रुहरूको सुरक्षा, सीट बेल्ट र हेलमेटको प्रयोग, मोबाइल फोन प्रयोग नगर्ने, र नशामा सवारी नगर्नेजस्ता विषयमा व्यवहारिक प्रशिक्षण दिनुभयो।
उहाँले थप भन्नुभयो, “अटो चालकहरू नियमित र दैनिक सडक प्रयोगकर्ता भएकाले सानोतिनो लापरवाहीले पनि गम्भीर दुर्घटनाको रूप लिन सक्छ।”
कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष मान बहादुर खत्री, माओवादी केन्द्र अध्यक्ष प्रदीप बिक, नेपाली कांग्रेस सभापति देव बहादुर के.सी, तथा रास्वपा नेपालका धन बहादुर बस्नेतले सडक सुरक्षामा सबैको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै, नियम पालनमार्फत अनुशासित यातायात प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
शोभा यातायात प्रा.लि.का का.अध्यक्षले कम्पनीले सवारी साधन चालकहरूको क्षमता अभिवृद्धि र सुरक्षाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रमको समन्वय बैजनाथ गाउँपालिकाले गरेको थियो भने आयोजक शोभा यातायात प्रा.लि. रहेको थियो।
कार्यक्रममा सहभागी अटो चालकहरूले यस्ता तालिमले आफ्नो ज्ञानमा थपिएको अनुभव सुनाउँदै, आगामी दिनमा नियम पालना गर्दै सुरक्षित सवारी सेवा दिने प्रतिवद्धता व्यक्त गरे।