बाँकेमा सौहार्दपूर्ण वातावरणमा होली र जुमा सम्पन्न, सिडिओको भूमिका प्रशंसनीय

नेपालगन्ज, बाँके –
बाँके जिल्लामा होली पर्व र रमजान महिनाको जुमा एकैदिन परे पनि पर्वहरू सौहार्दपूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीको सक्रियता र नेतृत्व प्रशंसनीय रहेको सहभागीहरूले बताएका छन्।

सिडिओ जोशीले बाँकेबासीको सहयोग र सुरक्षाकर्मीहरूको अथक प्रयासका कारण कुनै अप्रिय घटना नभइ सफलतापूर्वक पर्व सम्पन्न भएको जानकारी दिए। उनका अनुसार होली र जुमा एउटै दिन परेकाले सुरक्षा चुनौती बढेको भए पनि समन्वित व्यवस्थापनले परिस्थिति सहज बनायो।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शान्तिपूर्ण माहोल कायम राख्न ट्राफिक नियम उल्लङ्घन गर्ने १३७ मोटरसाइकल र २० जना उच्छृङ्खल व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनले जनसहभागिता उल्लेखनीय रहेको बताए।

मुस्लिम समुदायका अगुवा तथा सद्भाव समितिका संयोजक मेराज अहमद (हिमालय) ले सिडिओ जोशी, प्रहरी प्रमुख कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल लगायत सुरक्षानिकायको भूमिका सराहनीय भएको बताए। उनले अघिल्ला सिडिओहरूसँग तुलना गर्दै जोशीको कार्यशैली उत्कृष्ट र अनुकरणीय रहेको बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले होली लक्षित चेकजाँचमा कडाइ गरिएको र सवारी नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिएको जानकारी दिए। ट्राफिक व्यवस्थापनको प्रभावकारिताले दुर्घटनामा कमी आएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी जोशीले नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाइराख्न सबैको सहयोग अपरिहार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »