बाँके: बाँकेको प्रमुख जिल्ला अधिकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । बाँकेमा प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित बिदाई समारोहमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले प्रजिअ रिजाल अत्यन्त नरम, मिजासिला, क्षमतावान्, इमान्दार र कर्तव्यपरायण रहेको बताउनु भयो। मेयर बिष्टले प्रजिअको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।
नरैनापुरमा आयोजित बिदाई एवं सम्मान कार्यक्रममा सैयद इश्तियाक अहमद शाहले प्रजिअ रिजालले असल प्रशासक रहेको भन्दै प्रशंसा गर्नु भयो । ‘एउटा असल प्रशासक हुनका लागि कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन हुनु आवश्यक छ, यी सबै कुरामा उहाँ पोख्त हुनुहुन्छ’, प्रजिअ रिजाल तर्फ देखाउँदै शाहले भन्नुभयो, ‘यस्तै प्रशासक सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुने हो भने मुलुकमा अमन, चयन, शान्ती सुव्यवस्था कायम हुने र सुशासनको क्षेत्रमा समेत निकै प्रगति हुने थियो ।’ उहाँले भन्नुभयो, धार्मिक द्वन्द्वको चपेटामा परेको बाँकेलाई द्वन्द्व मुक्त बनाउन सफल हुनु भएकोमा प्रजिअलाई बधाई दिनु भयो । प्रजिअको रुपमा विधि र पद्धति अनुसार निष्पक्ष रुपमा काम गर्दा रिजाललाई केही व्यक्तिहरूले कपोलकल्पित आरोप समेत लागेको आफूले महसुस गरेको जिकिर गर्नुभयो । बिदाई कार्यक्रममा नरैनापुर उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, लेखा अधिकृत भरत बस्नेत लगायतको उपस्थिति रहेको थियो ।