दाङ, २०८२ असार ५ गते –
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरद्वारा “सुरक्षित यात्राका लागि स्मरण” शीर्षकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा आयोजित गरिएको थियो।

बर्खायाम सुरु भएसँगै बाढी, पहिरो जस्ता प्राकृतिक विपद्बाट हुने जोखिमलाई मध्यनजर गर्दै दाङ जिल्लाका पहाडी भेगमा सञ्चालन हुने सवारी साधनका चालक तथा सहचालकहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा ५० जना चालक तथा सहचालकहरुको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, नियम पालन, र विपद् अवस्थामा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक नरेन्द्र शाहीले प्रशिक्षण दिएका थिए।
उनले कार्यक्रममा बोल्दै भने,
“सवारी चालकहरू सजग र जिम्मेवार भए सवारी दुर्घटनाबाट धेरैको जीवन जोगाउन सकिन्छ। विपद् व्यवस्थापनमा ट्राफिक नियमको पालना अनिवार्य हुन्छ।”
उनले प्राकृतिक विपत्तिबाट उत्पन्न हुने सम्भावित जोखिमलाई कम गर्न प्रत्येक सवारी चालक सचेत र उत्तरदायी हुनुपर्ने कुरामा जोड दिए।
कार्यक्रमको उद्देश्य भनेको जोखिमयुक्त क्षेत्रमा सुरक्षित यात्रा सुनिश्चित गर्नु, दुर्घटनालाई न्यून पार्नु र ट्राफिक नियमलाई व्यवहारमा उतार्नु रहेको छ।