तीन हजार कावड यात्रीद्वारा नेपालगञ्जस्थित जुँगे महादेवमा जल अर्पण

भारत–नेपाल धार्मिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यसहितको यात्रा सम्पन्न

नेपालगञ्ज : भारतको उत्तरप्रदेश राज्य अन्तर्गत नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगञ्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” अर्पण गरेका छन्।

नानपारास्थित शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल लिएर बिहान नेपालगञ्ज आएका ती कावड यात्रीहरूले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको समन्वयमा पूजापाठसहित जल अर्पण गरेका हुन्। गुठीका कार्यालय प्रमुख राजु केसीका अनुसार, यात्रुहरूको भव्य स्वागत गरिएको थियो र पूजापाठ सकेपछि उनीहरू भारत फर्किएका थिए।

नवयुवक कावरिया सङ्घ नानपारा भारतका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहको नेतृत्वमा आएको टोलीले पैदल यात्रा गर्दै नेपालगञ्जस्थित जुँगे महादेव मन्दिरमा पूजाआजा सम्पन्न गरेका थिए। सिंहका अनुसार, यस यात्राको उद्देश्य नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउनु रहेको छ।

यात्रामा राजेश पटेल, रवि वर्मा र जगतराम पटेलको विशेष सहयोग रहेको थियो। ती यात्रीहरू राति बागेश्वरी मन्दिर परिसरमै विश्राम गरेर बिहान ६ बजे सीमा खुल्नेबित्तिकै मन्दिरमा प्रवेश गरेका थिए।

स्थानीय प्रशासन र सामाजिक संस्थाहरूले कावड यात्रालाई दुई देशबीचको धार्मिक र सांस्कृतिक सहकार्यको प्रतीकका रूपमा स्वागत गरेका थिए। नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले यस्तो धार्मिक गतिविधिले नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »