१९ असार,।
नेपालमा तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर भित्रिएको छ । माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्समा निर्मित एयरबस हेलिकप्टरलाई चीनको बाटो हुँदै ४० फिटे कन्टेनरमा लोड गरी तातोपानी नाकासम्म ल्याएको हो ।
कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरका पंखा र अन्य पार्टपूर्जा खोलेर कन्टेनरमा राखिएको थियो । “हामीले कन्टेनरमार्फत हेलिकप्टर तातोपानी कस्टमसम्म ल्याएका हौं, अब त्यहीँ सेटअप गरेर जाँचपासपछि उडाएर काठमाडौं ल्याउनेछौं,” उनले भने ।
उनका अनुसार यसअघि कम्पनीले एक हेलिकप्टर कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जमार्फत काठमाडौं ल्याएको थियो भने तातोपानी नाकाबाट हेलिकप्टर ल्याइएको यो पहिलोपटक हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि आफ्नो कार्यकालमा पहिलोपटक यस नाकाबाट हेलिकप्टर आयात भएको जानकारी दिए । “हेलिकप्टरको जाँचपास प्रक्रिया भइरहेको छ, १ प्रतिशत ड्युटी र १३ प्रतिशत भ्याट लाग्नेछ,” उनले बताए ।
चीनबाट नेपाल भित्रिने मुख्य दुई नाका — तातोपानी र टिमुरे — मध्ये टिमुरेको बाटो साँघुरो र अप्ठ्यारो भएकाले तातोपानी नाका रोजिएको हो । समुद्री मार्गमार्फत कलकत्ता हुँदै ल्याउँदा झण्डै एक महिना लाग्ने भए पनि चीनको बाटो प्रयोग गर्दा ८–१० दिनमै ल्याउन सकिने भएकाले तातोपानी मार्ग रोजिएको कम्पनीले जनाएको छ ।
भुसालका अनुसार जाँचपासपछि उक्त हेलिकप्टर माउन्टेन फ्लाइटमा प्रयोग गरिनेछ । अब कम्पनीसँग तीनवटा हेलिकप्टर हुनेछन् ।