कोहलपुर न्युरोडमा फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन

बाँके । कोहलपुर नगरपालिका –११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशोक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने बित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरूको एक हुल आइपुग्छ न्युरोडमा। हरेकका हातमा एउटा एउटा क्यामेरा। पहिलो पटक देख्ने व्यक्तिले सोच्ने गर्छ कि आज यहाँ केही कार्यक्रमको सुटिङ हुँदै होला।

यसरी हातमा क्यामेरा बोकेर हरेक दिन बिहान १० बजे न्युरोड पुग्ने हुलमा छन् कालिकोट घर भइ हाल कोहलपुर १ कौशिलानगर बस्ने २७ वर्षीय जीवन शाही, बाँसगढी नगरपालिका २ बर्दियाका २२ वर्षीय यामबहादुर खत्री, रुकुम घर भइ कोहलपुर २ सालबुट्टा बस्ने २० वर्षीय प्रवेश चन्द, कालिकोट घर भइ कोहलपुर ३ मदनचोक बस्ने २२ वर्षीय जीवन सञ्ज्याल र रुकुम घर भइ कोहलपुर बस्दै आएका २१ वर्षीय मदन शर्मा।

‘मैले फोटोग्राफी सिकेँ, काठमाडौँ लगायत बाहिरी ठुला सहरहरूमा त्यहाँका पर्यटकीय र सुन्दर स्थलहरूमा हामी जस्तै व्यक्तिले क्यामेराले फोटो भिडिओ खिचेर आम्दानी गरेको देखेँ, ठुलो लगानी पनि नचाहिने, म कोहलपुर आइसकेपछि यहाँको लोकेसनले मेरो मन छोयो, उत्कृष्ट लोकेसन लाग्यो’, जीवन शाहीले भने , ‘त्यसपछि आजभन्दा लगभग ९–१० महिना अघि यो ठाउँमा क्यामेरा बोकेर आएँ, सुरुसुरुमा लाज पनि लाग्यो, सुरुका दिनमा दैनिक ५०–६० रुपियाँ आउँथ्यो, तर पनि काम गर्दै गएँ, अहिले दैनिक एक हजार देखि बाह्र सय रुपियाँ आम्दानी भइरहेको छ।’

‘म यहाँ आएर जोडिएको २ हप्तामात्र भयो, सुरुमा जीवन दाइले एक्लै सुरु गर्नुभएको रहेछ, पछि फोटोग्राफीकै माध्यमबाट जोडिँदै जाँदा अहिले हामी पाँच जना पुगेका छौँ, बिहान १०–११ बजेतिर हामी यहाँ पुग्छौँ, त्यसपछि दिनभर यो ठाउँमा भिडभाड हुन्छ, साँझ ६ बजेसम्म यहाँ फोटो खिच्छौँ, अत्यन्तै सुन्दर र हरियाली ठाउँ छ।’ अर्का युवा यामबहादुर खत्रीले भने, ‘अहिले कतै जागिरका लागि धाउनु परेको छैन, आफ्नो र परिवारको खर्च यहीँबाट जुटाइरहेका छौँ।’

यस्तै, प्रवेश चन्दले भने, ‘हामीले यहाँ रुपियाँ पैसा मात्र नकमाएर यो ठाउँको प्रवर्धन पनि गरिरहेका छौँ, यो ठाउँलाई जताततै चिनाउने काम गरेका छौँ, यो ठाउँ फोटोग्राफीका लागि उचित स्थान छ, सुट गर्ने राम्रो ठाउँ छ, मानिसहरूको पनि ओहोरदोहोर र भिडभाड हुने गर्दछ, नगरपालिकाले यो ठाउँमा बस्नका लागि बेञ्च र फोहोर फाल्नका लागि डस्टिवन राखिदिए अत्यन्तै राम्रो हुनेथियो।’

हाललाई यसरी काम गरे पनि भविष्यमा गएर वाइल्ड लाइफसम्म गर्ने आफ्नो धोको भएको सुनाउँछन्, जीवन सञ्ज्याल। “अहिले यहाँ काम गरे पनि भविष्यमा वाइल्ड लाइससम्म काम गर्ने धोको छ, राम्रो फोटो स्टुडियो राखेर व्यावसायिक रूपमा यो कामलाई अगाडि बढाउने इच्छा छ।’ उनले भने, ‘सोच्ने मानिसले त काम नपाएर पार्कपार्कमा क्यामेरा बोकेर हल्लिएका छन् भन्छन् पनि होला, तर फोटोग्राफीको सुरुवात नै स्टिल फोटोबाट सुरुवात भएको हो, हामी काम गरेर खाने मान्छेलाई अरूले के सोच्छ त्यो तर्फ ध्यान दिँदैनौ।’

फोटो खिच्ने मात्रै नभएर टिकटक बनाउने र भिडिओ खिच्ने विभिन्न उमेर समूहका मान्छेहरू आउने गरेको बताउँछन्, अर्का युवा मदन शर्मा। उनीहरू सबैले भविष्यमा गएर वाइल्ड लाइफसम्मको काम गर्ने इच्छा रहेको बताए । विवाह, ब्रतबन्ध, पूजाआजा लगायतका काममा फोटो खिच्न र भिडिओ बनाउन माग आएपछि जाने समेत गरेको उनीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »