कोहलपुर नगरको नयाँ पहल: विपन्न परिवारका लागि घर बनाउन एक लाख ऋण सहायता

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर नगरवासीहरूलाई लक्षित गरी नयाँ आवास निर्माण वा जीर्ण घर मर्मतका लागि अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता उपलब्ध गराउने भएको छ।

कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा ल्याइएको ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत विपन्न तथा अति विपन्न नगरवासीलाई सहयोग प्रदान गरिनेछ।

कार्यक्रम अन्तर्गत आवासविहीन, जीर्ण घरमा बसोबास गरिरहेका वा आर्थिक अभावका कारण घर मर्मत गर्न नसक्ने व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ। नगरपालिका कार्यपालिकाको कार्यालयले वडा नं. १ देखि १५ सम्मका सबै वडाध्यक्षलाई औपचारिक सूचना पठाइसकेको छ।

नगरपालिकाका अनुसार, ऋण समयमै तिर्ने व्यक्तिका लागि ब्याजदर ७ वर्षसम्म स्थिर रहने भएकाले कुनै अतिरिक्त आर्थिक भार नपर्नेछ।

नगर प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यो कार्यक्रमले साना आम्दानी भएका नागरिकहरूलाई स्वाभिमानपूर्वक जीवनयापन गर्न सहयोग गर्नेछ।”

निवेदन दिनको अन्तिम म्याद २०८२ सालको साउन मसान्तसम्म तोकिएको छ।

कार्यक्रमले सामाजिक समावेशीता, समानता र आत्मसम्मानयुक्त जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै शिक्षा, स्वास्थ्य र सुरक्षामा समस्या भोगिरहेका परिवारलाई दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »