कोहलपुर, बाँके – स्थानीय स्तरमा लुकेर बसेका युवा प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्यका साथ कोहलपुरमा पहिलोपटक “Next Model Kohalpur – Season 1” आयोजना हुँदैछ। बी नेक्ट्स इभेन्ट्स नेपाल प्रा.लि. को आयोजनामा हुन लागेको यस मोडलिङ प्रतिस्पर्धा आगामी श्रावण १० गते (शनिबार) को दिन कोहलपुर–११ स्थित होटल ट्री टप हेभन मा अडिसन कार्यक्रमसहित सुरु हुनेछ।
कार्यक्रमको औपचारिक घोषणा श्रावण ९ गते पत्रकार सम्मेलनमार्फत गरिएको हो। सो अवसरमा आयोजकले कोहलपुरमा यति ठूलो स्तरको फेसन इभेन्ट पहिलोपटक हुन लागेको जानकारी गराउँदै यसले स्थानिय युवा प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम १६ देखि ३० वर्ष उमेर समूहका युवा–युवतीका लागि खुला गरिएको छ। मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि राख्ने नवप्रतिभाहरूमाझ उनीहरूको क्षमता उजागर गर्ने उद्देश्यले आयोजना गरिने यो प्रतिस्पर्धाले सहभागीहरूलाई व्यावसायिक प्रशिक्षण समेत प्रदान गर्नेछ।
उक्त प्रशिक्षणमा र्याम्प वाक, पोजिङ, फोटोशूट, संवाद कला, पोर्टफोलियो निर्माण, फेसन गाइड जस्ता विषय समेटिएका छन्।
यस्ता सीपमार्फत सहभागीहरूले भविष्यमा फेसन शो, म्युजिक भिडियो, विज्ञापन तथा डिजिटल मिडियामा अवसर पाउने अपेक्षा गरिएको छ। उत्कृष्ट प्रतिभाहरुलाई ट्रफी, प्रमाणपत्रका साथै आगामी ठूला फेसन इभेन्टहरूमा प्रत्यक्ष सहभागिता गराइने आयोजकले जनाएको छ।
कार्यक्रमको अडिसन तथा उद्घाटन समारोहलाई ख्यातिप्राप्त फेसन डिजाइनर प्रतिभा खड्काको उपस्थिति र चर्चित मेकअप आर्टिस्ट प्रनिता केसीको मार्गदर्शनले विशेष आकर्षण प्रदान गर्नेछ।
त्यस्तै, भरत चन्द ठकुरीको संयोजन तथा निर्देशनमा कार्यक्रम व्यवस्थित र प्रभावशाली रूपमा सञ्चालन हुने विश्वास लिइएको छ।
आयोजक संस्थाका अनुसार यो प्रतियोगिता केवल मोडलिङ प्रतिस्पर्धा मात्र नभई कोहलपुरको सांस्कृतिक, सामाजिक र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको अवसर हो।
यसले कोहलपुरलाई फेसन तथा सांस्कृतिक पर्यटनको हबको रूपमा विकास गर्ने सम्भावनासमेत बोकेको छ।
कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन, युवामा आत्मविश्वासको वृद्धि, रोजगारीका सम्भावना र डिजिटल प्लेटफर्ममा अभिव्यक्तिको अवसर समेत सृजना गर्ने लक्ष्य राखेको छ।
‘Next Model Kohalpur’ — केवल प्रतियोगिता होइन, अभियान हो
पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले “Next Model Kohalpur – Season 1” लाई कोहलपुरको पहिचान बदल्ने ऐतिहासिक अभियानको रूपमा व्याख्या गरे।
कार्यक्रमले स्थानीय सिर्जनशीलता, फेसन चेतना र प्रतिभाको पहिचानलाई उजागर गर्दै देशका विभिन्न फेसन हाउस, एजेन्सी र मिडिया प्लेटफर्मसम्म पुर्याउने लक्ष्य बोकेको छ।
दीर्घकालीन रूपमा हेर्दा, यस कार्यक्रमले कोहलपुरका युवाहरूलाई फिल्म, फेसन, ब्लगिङ र डिजिटल मिडियामा स्थान दिलाउने, तिनको प्रतिभालाई व्यवसायिक रूपमा स्थापित गर्ने, र कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन गन्तव्यको रूपमा चिनाउने बलियो आधार तयार पार्ने आशा गरिएको छ।