असार १९, कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा आज राप्तिसोनारी गाउँपालिका–०८ स्थित वडा कार्यालयको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालको अध्यक्षता तथा वडा अध्यक्ष शालिकराम डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, वडा स्तरीय पदाधिकारी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नागरिक सुनुवाईका क्रममा सहभागीहरुले प्रहरी सेवा अझ छिटो, छरितो, पारदर्शी, निष्पक्ष र जनउत्तरदायी बनाइनु पर्ने माग राखेका थिए। कार्यक्रममा उठेका जनगुनासोलाई गम्भीरतापूर्वक सुन्दै डीएसपी खनालले प्रहरी सेवामा देखिएका कमजोरीहरू सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रहरीको काम कारबाही र सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउनेतर्फ सचेत रहनुपर्ने बताउँदै कार्यक्रम समापन गरेका थिए।