अन्तरजातीय बिहेका कारण विभेद, बुवाको काजकिरिया नै अलग्गै गर्न बाध्य खजुराका अर्जुन

खजुरा:बाँकेको खजुरा गाउँपालिका–३ बिगाउ ७८ नम्बरमा ४९ वर्षीय अर्जुन अधिकारीले बुवाको काजकिरिया गर्ने बेलामा घरमा छिर्न पाएनन् । अन्तरजातीय विवाह गरेको भन्दै परिवारले घरमा प्रवेश नै गर्न नदिएपछि उनले छुट्टै बुबाको काजकिरिया गरेका हुन् । अधिकारी दम्पती किरिया बसेको ठाउँमा १३ दिनसम्मै आफन्त तथा छिमेकी कोही पनि पुगेनन् । अर्जुनका ६५ वर्षीय बुबाको क्यान्सरका कारण जेठ २७ मा निधन भएको हो ।

८ वर्षअघि गाउँकै ४८ वर्षीया शिला विकसँग विवाह गरेपछि अर्जुनलाई घरपरिवार एवं आफन्तले बहिष्कार गर्दै आएका थिए । उनले पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि शिलासँग प्रेम विवाह गरेका हुन् । बुवाको अन्त्यकर्म गर्न नदिएर आफू र पत्नीमाथि विभेद गरिएको उनको भनाइ छ । उनले भने, ’जातका आधारमा विभेद गरिनु कानुनी अपराध हो । हामीमाथि अपराध भएको छ ।’

शिलासँग बिहेपछि परिवारले न उनीहरूलाई घर भित्रिन दिए, न त सामाजिक मान्यता नै। उनीहरूमाथि परिवारले तिरस्कार र बहिष्कार ग¥यो । त्यसकारण उनीहरू परिवारबाट अलग्गै बस्दै आएका छन् । उनका दुई भाइ बुवाको छुट्टाछुट्टै किरिया बसे । यता उनीहरुकोमा छिमेकी समेत राती कुर्न आउन मानेनन्, माइती पक्षबाहेक त्यहाँ कोही पुगेनन् ।

यो सबै देख्दा आफूलाई निकै पीडा भएको शिलाले बताइन् । ’अहिले त मलाई हामी मान्छे पनि हौँ कि होइनौँजस्तो लाग्छ । सबैले घृणा गर्दा धेरै दुःख लाग्छ,’ उनले भनिन्, ‘हामीसँग घरको मान्छे मात्र कहाँ हो र, छिमेकी पनि बोल्न डर मान्नुहुन्छ ।’ यद्यपि, अर्जुनकी आमा तेजकुमारीले भने छोरालाई साथ दिइरहेकी छन् ।

नेपालको संविधानले जातीय छुवाछूत र भेदभावलाई निषेध गरेको छ । त्यस्तै, ’जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ र सोही अनुसारको नियमावली, २०७४ मा पनि यस्ता कार्यलाई कसुर मानी कारबाहीको व्यवस्था छ ।

कानुन व्यवसायी बसन्त गौतमका अनुसार यदि कसैले कुनै व्यक्तिलाई जातीय कारणले शव छुन नदिएको, किरिया गर्न नदिएको वा सामाजिक कार्यमा सहभागी हुन रोकेको छ भने पीडित वा सम्बन्धित व्यक्तिले प्रहरी कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था छ ।

त्यस्तै, ऐन अनुसार स्थानीय तह वा राष्ट्रिय दलित आयोगमा पनि उजुरी गर्न सकिन्छ र दोषी ठहरिए ३ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । ’तर कानुन हुँदाहुँदै पनि विभेद भोग्नेहरू नै बोल्नुहुन्न,’ दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले भनिन्, ‘ठूलो विडम्बना नै यही छ । तीन तहको सरकार छ तर यो उहाँहरूको सवाल नै बन्दैन ।’

’खजुरा गाउँपालिकामा भएको यो घटनाले जातीय छुवाछूतका अवशेषहरू अझै पनि बाँकी नै रहेको झझल्को दिन्छ । हामीले आफ्नो हिसाबले धेरै कोसिस गरेका हौँ,’ वडाध्यक्ष पूर्णबहादुर भण्डारीले भने, ‘दबाब दिन मिलेन । म त्यसबेला बाहिर थिएँ । तर पछि कोसिस गर्दा पनि सम्झाउन सकेनौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »