राप्तीसोनारी–५, बिनाैनास्थित जय बागेश्वरी अनाथालय बाल संरक्षण केन्द्रमा रहेका अनाथ बालबालिकालाई पेसागत महासंघ बाँकेले शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ। महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर सो सहयोग प्रदान गरेको हो।
महासंघका अध्यक्ष दुर्गा डाँगीका अनुसार, सहयोगस्वरूप १२५ केजी चामल, १० लिटर खाने तेल, १५० थान कापी, २ दर्जन कलम, ४ दर्जन सिसाकलम, १ पाकेट इरेजर र ६ थान स्कुल झोला वितरण गरिएको हो।
“सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले बालबालिकाको पठनपाठनमा टेवा पुग्नुका साथै उनीहरूमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु,” अध्यक्ष डाँगीले बताए।
एमाले बाँकेका सचिव बलराम भट्टराई,क्षेत्रीय अध्यक्ष कुशमाखर बस्याल लगायतकाे सहभागीतामा बाल संरक्षण केन्द्रकी सञ्चालिका तारा ओलीलाई सामाग्री हस्तान्तरण गरिएको हाे ।
उक्त सहयोगले बाल संरक्षण केन्द्रमा रहेका बालबालिकाको मनोबल अभिवृद्धिमा टेवा पुग्ने र समाजका विभिन्न क्षेत्रबाट यस्ता संस्थाप्रति सहानुभूति र सहयोग अभिवृद्धि हुने अपेक्षा गरिएको छ।