सवै परीक्षा त्रासरहित वातावरणमा सञ्चालन गर्न कोहलपुर एमालेको माग

कोहलपुर, बाँके — नेकपा एमाले नगर समिति कोहलपुरले कोहलपुर नगरपालिकाले सञ्चालन गर्ने सबैखाले परीक्षाहरू विद्यार्थीहरूमा डर, त्रास र मनोवैज्ञानिक दबाव नपर्ने गरी सञ्चालन गर्न माग गरेको छ।

एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा विगतका वर्षहरूमा वि.एल.इ. परीक्षा परिणामका विषयमा नगरपालिका कर्मचारी र सरोकारवालाबीच तीव्र विवाद उत्पन्न भएको स्मरण गराउँदै यसपटक परीक्षा वातावरण सहज र मर्यादित बनाउन आग्रह गरिएको छ।

“कोहलपुरलाई शैक्षिक हब बनाउने नाममा अस्थायी सीसी क्यामेरा जडान र वडा अध्यक्षहरूलाई परीक्षा अनुगमनमा खटाउनेजस्ता हल्लाहरू फैलिएको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “यसले विद्यार्थीहरूमा अनावश्यक तनाव र त्रास सिर्जना गरिरहेको छ, जुन अस्वीकार्य छ।”

एमालेले शिक्षा सुधारको नाममा परीक्षा अवधिमा मात्रै देखाइने यस्ता गतिविधिहरूले बाल मानसिकतामा नकारात्मक असर पार्ने भन्दै तत्काल यस्ता कार्यहरू रोक्न आग्रह गरेको छ। विद्यार्थीहरूलाई बिना डर–त्रास परीक्षा दिन पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकालाई जिम्मेवार बन्न पनि आग्रह गरिएको छ।

साथै, शिक्षक तथा कर्मचारीहरूको मनोबल खस्काउने क्रियाकलाप नगर्न चेतावनी दिँदै एमालेले परीक्षा अनुगमनको नाममा जनप्रतिनिधि खटाउने निर्णय फिर्ता लिन र परीक्षा हलमा भीडभाडको संस्कृति अन्त्य गर्न माग गरेको छ।

“यदि यस्ता सस्तो लोकप्रियताका गतिविधिहरू तत्काल सच्याइएन भने एमाले कडा प्रतिवाद गर्न बाध्य हुनेछ,” विज्ञप्तिको अन्त्यमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »