कोहलपुर, १५ साउन — नेपाली महिला क्रिकेटको चम्किलो नाम, राष्ट्रिय टोलीकी पूर्व उप–कप्तान ममता थापा अब शैक्षिक परामर्श क्षेत्रमा समेत सशक्त रुपमा देखिने भएकी छन्। उनी ‘ग्लोबल युनि नेटवर्क’को ब्रान्ड एम्बासडरमा नियुक्त भएकी हुन्।
कोहलपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत थापालाई एक वर्षका लागि संस्थाको आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरिएको हो। कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नविन बुढाक्षेत्री र क्रिकेटर थापाबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो।
खेलकुद मात्र हैन, शिक्षा अभियानमा पनि अग्रसर!
थापाले ग्लोबल युनि नेटवर्कसँगको सहकार्यलाई एउटा नयाँ यात्राको सुरुआत भन्दै खुशी व्यक्त गरिन्। “खेलकुद र शिक्षा एकआपसमा गहिरो सम्बन्ध भएको क्षेत्र हो,” थापाले भनिन्, “अब म शैक्षिक अभियानमा पनि केही योगदान दिन पाउने भएकाले अत्यन्त गर्व महसुस भएको छ।”
विदेशमा अध्ययन गर्ने युवाको पहिलो रोजाइ
ग्लोबल युनि नेटवर्क काठमाडौँमा प्रधान कार्यालय र बाँकेको कोहलपुरमा शाखा कार्यालयमार्फत अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायतका प्रमुख देशहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिँदै आएको छ।
निर्देशक बुढाक्षेत्रीले भने, “हाम्रो संस्थाको सोच हो — सशक्त युवालाई मार्गदर्शन, उज्ज्वल भविष्यको सुरुवात। त्यसैले प्रेरणादायी खेलकर्मी ममता थापा जस्ता व्यक्तित्वलाई प्रतिनिधित्व गराउनु हाम्रो लागि गर्वको विषय हो।”
थापाको यो भूमिका धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने संस्थाको विश्वास छ।